साफ वुमन्स च्याम्पियनसिप : माल्दिभ्सको पोस्टमा नेपालको दर्जन गोल, रेखा र प्रीतिको ह्याट्रिक
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्सको पोस्टमा नेपालले झण्डै एक दर्जन गोल गरेको छ ।
नेपालकी रेखा पौडेलले ह्याट्रिक सहित ५ गोल र प्रीति राइले ३ गोल गरेपछि नेपालले माल्दिभ्सलाई ११-० ले पराजित गरेको हो ।
पहिलो हाफमा नेपालले ४-० गोलको अग्रता बनाउँदा २ गोल गरेकी रेखाले दोस्रो हाफको सुरुवातमै गोल थप्दै ह्याट्रिक पुरा गरेकी थिइन् । उनले ६२ औ र ७८ औ मिनेटमा गोल गर्दै व्यक्तिगत ५ गोल पुरा गरेकी थिइन् ।
छैटौं मिनेटमा प्रीति राईको गोलबाट अग्रता लिएको नेपालले २९ औं मिनेटमा सविताको गोलबाट अग्रता दोब्बर बनाएको थियो ।
त्यसपछि रेखा पौडेलले पहिलो हाफमा खेलको ३२ औं र ४२ औं तथा दोस्रो हाफमा र ४८ औं मिनेटमा लगातार ३ गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । रेखाले नै खेलको ६२ औ मिनेटमा व्यक्तिगत चौथो गोल गरेपछि नेपाल खेलमा ६-० ले अघि भएको थियो ।
प्रीति राइले ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ७-० को अघि रहेको बेला त्यसको तीन मिनेटपछि नै ६८ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई ८-० को अग्रता दिलाएकी थिइन् । खेलको ७८ औ मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र नेपालका लागि नवौ गोल गरेकी थिइन् । उनी खेलको ८३ औ मिनेटमा सव्सिच्युट भएपछि दोहोरो ह्याट्रिक गर्नबाट भने चुकिन् ।
खेलको ८६ औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा प्रीति राइले सहज गोल गर्दै नेपाललाई दोहोरो अंकको गोल अन्तरको जित पक्का गरेकी थिइन् भने त्यहि गोलबाट उनले व्यक्तिगत रुपमा आफ्नो ह्याट्रिक समेत पुरा गरिन् ।
खेलको ८८ औ मिनेटमा नेपालका लागि अमिसा कार्कीले गोल गर्दै नेपाललाई ११-० को जित पक्का गराएकी थिइन् । इन्जुरी समयमा नेपालले गरेको गोलले मान्यता नपाउँदा एक दर्जन गोलको रेकर्डबाट नेपाल चुकेको थियो ।