सिद्धबाबा सुरुङ खुलेपछि लुम्बिनी–पहाडी गन्तव्यको यात्रा सहज हुने अपेक्षा
पाल्पा । सिद्धार्थ राजमार्गको जोखिमपूर्ण सिद्धबाबा खण्डमा निर्माण भइरहेको सुरुङमार्ग आगामी मङ्सिरभित्रै सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङ सञ्चालनमा आएपछि लुम्बिनीबाट पाल्पा हुँदै गुल्मी, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका पर्यटकीय गन्तव्यसम्मको सडक यात्रा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
१ हजार १२६ मिटर लामो सुरुङमार्गको मुख्य संरचना तथा सुरुङभित्रको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने लक्ष्यसहित बाँकी काम तीव्र पारिएको छ।
यसअघि बर्खाको बाढी र निर्माण सामग्री आपूर्तिमा भएको ढिलाइका कारण काम करिब एक महिना पछाडि धकेलिएको थियो। भोटेकोशीको बाढीले सुरुङका लागि ल्याइएका केही विद्युतीय सामग्री बगाएपछि पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको आयोजना प्रमुख बास्तोलाले बताए।
अहिले सुरुङभित्र सडक पिच गर्ने काम सकिएर रङरोगन भइरहेको छ। टेक्निकल भवनको फिनिसिङ तथा विद्युतीय र अन्य इलेक्ट्रोमेकानिकल उपकरण जडानका काम अघि बढिरहेका छन्। सुरुङको लाइनिङसहित अधिकांश सिभिल संरचना यसअघि नै पूरा भइसकेका छन्।
आयोजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत छ। मुख्य सुरुङ, बाइपास सुरुङ, लाइनिङ, १४ वटा कल्भर्ट तथा सुरुङभित्रको प्रिमेन्टसम्बन्धी काम सम्पन्न भएको उनले जानकारी दिए।
सुरुङ सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको जोखिमपूर्ण यात्रा केही सहज हुने अपेक्षा गरिएको छ। यो क्षेत्रमा वर्षायाममा पहिरो तथा बाढी र सुक्खायाममा समेत ढुंगा तथा पहिरो खस्ने जोखिमका कारण यात्रुले लामो समयदेखि कठिनाइ भोग्दै आएका छन्।
पर्यटनका दृष्टिले पनि सुरुङमार्गलाई महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। लुम्बिनीबाट पाल्पा हुँदै पहाडी जिल्लातर्फ जाने पर्यटक तथा ती जिल्लाबाट लुम्बिनी आउने यात्राका लागि सडकको सुरक्षा र यात्रा समयको पूर्वानुमानयोग्यता बढेमा क्षेत्रीय पर्यटन आवागमनलाई सहयोग पुग्न सक्छ। पाल्पाको तानसेन, गुल्मीका विभिन्न गन्तव्य तथा स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका पहाडी पर्यटन क्षेत्रसँग लुम्बिनीको सडक सम्पर्क थप सहज बनाउन यसले भूमिका खेल्ने अपेक्षा छ।
सुरुङको बाहिरी क्षेत्रमा भने पहिरो नियन्त्रण तथा सडक सुरक्षाका थप काम गर्न बाँकी छन्। आयोजनाले रकसेड, रकफल ब्यारेयर र स्लोप प्रोटेक्सनलगायतका संरचना निर्माण गर्ने जनाएको छ।
२०७८ फागुनमा ठेक्का सम्झौता भई २०७९ सालदेखि निर्माण सुरु भएको आयोजना चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा निर्माण गरिरहेको छ।
सिद्धबाबा सुरुङ सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका यात्रुलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी लुम्बिनी–पाल्पा–पोखरा तथा लुम्बिनीबाट पश्चिमी पहाडी पर्यटन गन्तव्यतर्फको सडक यात्रामा सुरक्षित पूर्वाधार थपिने भएकाले पर्यटन व्यवसायका लागि समेत यसको महत्व रहने देखिन्छ।
