गुटेरेसको प्रतिबद्धता : पदबाट हटेपछि पनि नेपालको साथ छोड्दिनँ
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकाल सकिएपछि पनि नेपाललाई सहयोग र समर्थन गरिरहने बताएका छन्।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटका क्रममा गुटेरेसले नेपालसँग आफ्नो लामो समयदेखिको सम्बन्ध स्मरण गर्दै भविष्यमा पनि नेपालको हितका विषयमा साथ दिने प्रतिबद्धता जनाएका हुन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले महासचिव गुटेरेससँग स्थानीय समयअनुसार साँझ भेटवार्ता गरेका थिए। भेटपछि प्रधानमन्त्री शाह महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।
भेटमा गुटेरेसले भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। उनले जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसङ्घ नेपालसँगै रहेको बताउँदै नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए।
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपालका लागि सहयोगी भूमिकामा रहने बताएका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति व्यहोरेको र हिमताल विस्फोटको जोखिम अझै कायम रहेको जानकारी गराए।
दुवैबीच नदी किनारमा बसोबास गर्ने नागरिकको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसैगरी, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिका लागि निर्धारित समयसीमा थप गर्ने विषयमा संयुक्त राष्ट्रसङ्घको समर्थनबारे पनि छलफल भएको बताइएको छ।
