जडीबुटी बेचेरै साढे दुई तलाको घर, मासिक डेढ लाखसम्म कमाइ
jadibuti
टुरिजमफेस
धरान । संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो। हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी टाढा–टाढासम्म पनि पुगिन् ।
लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेकी छन् । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन् ।
’पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ,’ उनले सुनाइन् । सुरुआती समयमा उनी जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन् ।
‘सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक एक लाख ५० हजारसम्म आम्दानी हुन्छ,’ उनले भनिन्, ’जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।’
उनले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसकेकी छन् । उनी संखुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउँछिन् । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उनले बताइन् ।
उनको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राखेकी छन् ।
जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उनको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ। तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उनले बताइन् ।
शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिइन्। उनी पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उनले सुनाइन् ।
पुर्ख्यौली घर सङ्खुवासभा भएका उनी जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाइन् । ‘सुरुआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उनले भनिन्, ’अहिले फेरि यसको माग बढेको छ ।’ पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उनको भनाइ छ । उनी जडीबुटी बिक्रीबाट मासिक ६० हजारभन्दा बढी आम्दानी हुने बताउँछिन् ।
‘अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ,’ उनले भनिन्, ’पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरू पनि अहिले जडीबुटी किन्न थालेका छन् ।’
इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा छन् ।
‘जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक पाँच हजारदेखि १० हजारसम्मको व्यापार हुन्छ,’ उनले भने । उनले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाए । रासस
jadibuti
