झिनिया बेचेर दसैं तिहारमा मात्रै कमाउँछन् पाँचदेखि सात लाख
सुशीला रेग्मी
पाल्पा । पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठ एक दशकदेखि झिनिया व्यवसायमा छन् । त्यतिबेला रामपुरमा झिनिया व्यवसाय गर्ने उनीहरू नै पहिलो व्यवसायी थिए ।
चाडवाड नजिकिन थालेपछि झिनियाको माग थेगिसाध्य हुँदैन । माग अनुसारको उत्पादन बढाउन चाडवाडको समयका लागि मात्रै भनेर कामदारहरू थप्छन् ।
तिहार नजिकिँदै गर्दा कामदार थपेर ९ जना पु¥याएको रुद्रनारायण बताउँछन् । आफू पनि काम गर्छन् । बिहानदेखि साँझसम्म भ्याइनभ्याइ हुन्छ। झिनियाँ खरिद गर्न व्यापारी र ग्राहक उनको घरसम्मै पनि आउँछन् ।
‘भ्याइनभ्याइ छ । माग धान्न उत्पादन बढाएका छौं । व्यापार राम्रो भइरहेको छ,’ रूद्रनारायणले भने ।
उनको व्यवसाय विशेषगरी दसैँ तिहार लक्षित हुन्छ । अरू बेला त्यति धेरै भ्याइनभ्याइ हुँदैन । दसैंतिहारका लागि एक÷दुई महिनादेखि नै झिनिया बनाउने र त्यसलाई भण्डारण गरेर राखिने उनले बताए ।
रूद्रनारायण रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् । झिनिया व्यवसायमा राम्रै आम्दानी हुने भएपछि अहिले रामपुरमा अरू मानिसहरू पनि त्यसमा लागेका छन् । अरूहरू पनि व्यवसायमा लागेको देखेर आफूलाई खुशी लागेको रूद्रनारायण बताउँछन् ।
रूद्रनारायणले विभिन्न सहर जाँदा थाहा पाएका थिए झिनियाको विक्री राम्रै हुन्छ भन्ने कुरा । तर कसरी बनाइन्छ भन्ने थाहा थिएन। सुरूमा हाते मेसिन ल्याए र जानीनजानी बनाउन थाले ।
व्यवसाय क्रमशः फस्टाउन थालेपछि क्रमिक रूपमा उद्योगको रूपमा विकास गर्दै गए । अहिले दुई वटा विद्युतीय मेसिन छ जुन बिहानदेखि साँझ अबेरसम्म चल्छ । त्यसबाट एक दिनमा एक हजारभन्दा बढी झिनिया उत्पादन हुने उनी बताउँछन् ।
उत्पादित झिनियाँ दुई दिनको पूरा घाममा सुकाइएपछि खानयोग्य हुने उनले बताए । झिनयासँगै रुद्रनारायण कालिका सिन्के चाउचाउ उद्योगसमेत चलाउँदै आएका छन् । आफ्नै घरमा उनले विसं २०६३ देखि चाउचाउ उद्योग सञ्चालन गरिरहेका छन् ।
झिनिया खुद्रा मूल्य प्रतिकिलोको सय रूपैयाँ र थोक मूल्य ९० रूपैयाँमा धमाधम बिक्री भइरहेको रूद्रनारायण बताउँछन् ।
उनले उत्पादन गरेको झिनियाँ पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा पुग्छ । स्थानीय व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् । आफूहरूले उत्पादन गरेको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि निकै टाढा–टाढाबाट ग्राहकहरु आउनले उनले बताए ।
दसैँ तिहारमा मात्रै पाँचदेखि ७ लाख बराबरको झिनियाँ बिक्री हुने लक्ष्मी बताउँछिन् ।
उनी यो व्यवसाय अझै महिलाका लागि आयआर्जनको बलियो माध्यम हुनसक्ने बताउँछिन् । व्यवसायमा आबद्ध भएपछि आफू आत्मनिर्भर भएको उनले सुनाइन् । गृहिणी महिलाहरूले बिहान साँझ घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सक्ने र सानो लगानीमा पनि गर्न सकिने लक्ष्मी बताउँछिन् । रासस
