डोनाल्ड ट्रम्प दोस्रोपटक पनि महिला उम्मेदवारलाई नै पराजित गरी राष्ट्रपति निर्वाचित
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक निर्वाचित हुने लगभग पक्का भएको छ । आफ्नो जित सुनिश्चित भएपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधनसमेत गरिसकेका छन् । उनी आधिकारिक रुपमा राष्ट्रपति निर्वाचित हुन ३ इलेक्टोरल भोटले मात्रै पछि छन् ।
डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । यस अघि उनी सन २०१६ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुँदा डेमोक्रेटिक पार्टीकी महिला उम्मेदवार हिलारी किल्टनलाई पराजित गरेका थिए । २०२० मा भने उनी वर्तमान राष्ट्रपति जो वाइडनसँग पराजित हुँदा लगातार दुई कार्यकालका लागि राष्ट्रपति बन्न असफल भएका थिए ।
अमेरिकाको इतिहासमा अहिलेसम्म महिला राष्ट्रपति निर्वाचित हुन सकेका छैनन् । पछिल्लो एक दशकमा दुई पटक महिला उम्मेदवारले राष्ट्रपतिमा प्रतिस्पर्धा गरेपनि सफल हुन सकेनन् । महिला समानताका कुरा विश्वभर फैलाउने विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामै महिला राष्ट्रपति निर्वाचित हुन नसक्नुमा त्याहाँका बुढापाका र अशिक्षित मतदाताको हात रहेको देखिन्छ ।
यो समाचार तयार पार्दासम्म ट्रम्पलाई बहुमत (२७० इलेक्टोरल भोट) हासिल गर्न मात्रै ३ इलेक्टोरल भोट आवश्यक छ । १० इलेक्टोरल भोट भएको विस्कन्सनमा ९५ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा ट्रम्प निकै अगाडि रहेका कारण उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । २०२४ मा आएर उनले डेमोक्रेटिक पार्टीकी महिला उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दैछन् ।
उनको जितसँगै अमेरिकाले पुन: आप्रवासन नीतिमा कडाइ गर्ने अड्कलबाजी गरिएको छ । ट्रम्प पहिलोपटक राष्ट्रपति निर्वाचित हुँदा उनले आप्रवासन नीतिमा कडाइ गरेका थिए । दोस्रो कार्यकालमा पनि सोही नीति अपनाउन सक्ने आकलन गरिएको छ ।
–एजेन्सीहरुको सहयोगमा