धेरै कर तिर्ने सम्मानित, को को हुन् धेरै कर तिर्ने व्यक्ति र कम्पनी ?
टुरिजमफेस
काठमाडौं । आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानित भएका छन् । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको हो ।
जसमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये भने सबैभन्दा आयकर श्रुति ट्रेडर्सले तिरेको छ । वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्थातर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ ।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् ।
गत आर्थिक वर्षमा ५० करोडदेखि १ अर्ब रूपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भयो ।
ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्सफरलाई उत्कृष्ट करदाताको रूपमा सम्मानित भए ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी राजबहादुर शाहले कर तिरेका छन् । विसं. २०७५ साउनदेखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रूपमा होङ्सी शिवम सिमेन्ट रहेको छ । वार्षिक ५० करोड रूपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राइजेज र विशेष उद्योगतफ वरुण बेभरेजलाई सम्मान गरिएको छ ।