नेपालको पहिलो कन्ट्री रिपोर्ट–पर्यटन क्षेत्र र आन्तरिक उत्पादनलाई जोड देऊ
टुरिजमफेस
काठमाडौं । नेपालको पहिलो कन्ट्री रिपोर्टले पर्यटन क्षेत्र र आन्तरिक उत्पादनलाई जोड दिने भनेको छ । साथै कन्ट्री रेटिङमा नेपालको संरचनागत कमजोरी रहेको समेत देखिएको छ । जसका कारण आर्थिक चुनौती कायमै रहेको ताजा रिपोर्टले देखाएको छ ।
पहिलो पटक नेपालले कन्ट्री रेटिङ गराएको हो । जसमा समग्र अंक बी.बी माइनस प्राप्त भएको छ । जसको अर्थ नेपालको आर्थिक, भौतिकलगायत शासकीय स्वरुपको अवस्था कमजोर रहनु हो । यद्यपि अर्थ मन्त्रालयका अधिकारीहरूले भने नतिजा सोचेभन्दा राम्रो आएको दावी गरेका छन् । तर, विज्ञहरूले कन्ट्री रेटिङको परिणाम अनुसार नेपालले सुधारका पक्षमा थुपै्र काम गर्नुपर्ने देखिएको बताएका छन् ।
नेपालको कन्ट्री रेटिङ विश्वप्रसिद्ध क्रेडिट रेटिङ संस्था ‘फिच रेटिङ’ले गरेको हो । रिपोर्ट अनुसार नेपालका आर्थिक संरचनागत कमजोरीले दीर्घकालीन वित्तीय रणनीतिको अभाव, आर्थिक व्यवस्थापनमा चुनौतिपूर्ण अवस्था रहेको औंल्याएको छ । नेपालले बहुपक्षीय र दुई पक्षीय ऋण पर्याप्त रूपमा नपाएकाले भविष्यमा विदेशी मुद्राको सञ्चितीमा दबाब ल्याउन सक्ने जोखिम देखाइएको छ ।
त्यस्तै रेमिटेन्सको अधिक निर्भरताले पनि दीर्घकाललाई समस्या पार्ने उल्लेख गरिएको छ । विकासका आयोजनामा फितलो कार्यान्वयन तथा राजनीतिक अस्थिरता अन्य मुख्य चुनौतीका रूपमा औल्याइएको छ । बढ्दो आयातलाई कम गर्दै पर्यटन क्षेत्र, आन्तरिक उत्पादनमा जोड दिन, कर संरचना सुधार र नयाँ स्रोतहरूको पहिचान गर्न पनि भनिएको छ । नेपालको लागि भारतसँगको स्थिर विनिमयदरलाई भने राम्रो पक्षका रूपमा लिइएको छ । रिपोर्टमा नेपाली रूपैयाँ र भारतीय रूपैयाँबीच स्थिर विनिमय दरले आर्थिक स्थायित्वमा योगदान दिएको उल्लेख छ ।