चुनावमा मिश्रित नतिजा, यसको संकेत के हो ?
रुद्र खड्का
काठमाडौं । विभिन्न कारणले रिक्त हुन पुगेका स्थानीय तह निर्वाचनको नतिजा मिश्रित आएको छ । निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेसदेखि प्रतिपक्ष दलहरू माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलेसम्मले जित हासिल गरेका छन् । २०८४ मा हुने संघीय तथा प्रदेश र स्थानीय तहको निर्वाचनका लागि अहिलेको निर्वाचन नतिजाले त्यतिखेर पनि अहिलेकै जस्तो नतिजा आउन सक्ने संकेत गरेको छ । यसले गर्दा नेपालमा अबका सरकार पनि अस्थिर नै हुने खतरा बढाएको छ ।
जुनसुकै दलले आफ्ना योजना कार्यान्वयन गर्नका लागि निश्चित समयसम्म काम गर्नुपर्ने भए पनि ती दलले स्पष्ट बहुमत ल्याउन नसक्दा पटकपटक सरकार परिवर्तन हुने गरेका छन् । राजनीतिक दलका नेताहरूले यसैलाई फाइदाको रूपमा लिँदै सरकार परिवर्तन गर्ने क्रम जारी राखेका छन्, जसले गर्दा नेपालले अपेक्षित आर्थिक विकास गर्न सकेको छैन ।
२०८४ मा कुनै नयाँ राजनीतिक दल आए छुट्टै कुरा नत्र अहिलेकै राजनीतिक दलबीच नै प्रतिस्पर्धा हुने र यिनै दलले नै सत्ताको नेतृत्व गर्ने स्थानीय तहको निर्वाचनको नतिजाबाट देखिएपछि विज्ञहरूले नेताहरूमा सत्ता मोहभन्दा पनि देशलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
स्थानीय तहको निर्वाचन नतिजा अनुसार धनुषाधाम–१, उदयपुरको त्रियुगा–१२, नुवाकोटको ककनी–२, गोरखा नगरपालिका–५ बाट माओवादीका उम्मेदवार विजयी भएका छन् । उता माओवादी प्रभाव क्षेत्र भनेर चिनिएका रुकुम, रोल्पा, कालिकोट, जाजरकोट, दार्चुला, जुम्लालगायतका स्थानमा भने माओवादीले हार बेहोरेको छ ।
रोल्पाको रुन्टीगढी–४, रुकुमको सानीभेरी–५, दार्चुलाको दुहु–५, जाजरकोटको कुशे–७, बर्दियाको ठाकुरबाबा–४, डोटीको पूर्वीचौकी–६, गुल्मीको मुसिकोट–१, कीर्तिपुर नगरपालिका–१, रौतटहको राजपुर–६ बाट कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
उता दैलेखको महाबु गाउँपालिका अध्यक्ष, बाजुराको कात्र्तिकस्वामीको उपाध्यक्ष, कपिलवस्तुको शुद्धोधन–१, ताप्लेजुङको सिरिजंघा–३, महोत्तरीको रामगोपालपुर–२, दैलेखेको दुल्लु–५, ओखलढुंगाको मुलुङ–५ बाट एमालेका उम्मेदवार विजयी भएका छन् ।
गएको निर्वाचनमा कांग्रेस, एमाले, माओवादीले जितेका कैयन स्थानीय तहमा यसपटक फरकफरक नतिजा आएको छ । पहिलो पटक स्थानीय निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१६ बाट विजयी हात पारेको छ । कालिकोटको तिलागुफा–४ मा नेपाल मजदुर किसान पार्टी र रौतहटको गढिमाई–८ मा समाजवादीका उम्मेदवार विजयी भएका छन् । त्यस्तै झापाको कन्काई–६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।