होटल सब्रिना आइपिओ ल्याउँदै
टुरिजमफेस
काठमाडौं । होटल सब्रिना लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । होटलको छैटौं साधारण सभाले आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष निराजन थापाले बताए ।
कम्पनीको ९० करोड अधिकृत पुँजी र ५३ करोड रूपैयाँ जारी पुँजी र चुक्तापुँजी ३५ करोड ६५ लाख रूपैयाँ रहेको छ । कम्पनीले १५ करोड रूपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
यसका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिएको कम्पनीले जनाएको छ । काठमाडौंको बुढानिलकण्ठमा रहेको होटल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तर स्तरोन्नति गर्नका लागि आइपिओ आवश्यक भएको जनाएको छ ।
होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटल कृटिक एण्ड ब्लगर्स एसोसिएसन तथा होटल डट कमले सन् २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित भएको थियो । अहिले होटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गरिरहेको छ ।