झन्डै साढे एक अर्ब रूपैयाँ भ्रष्टाचारको वाइडबडी जहाज खरिदमा उच्च अधिकारी दोषी
टुरिजमफेस
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रकम भ्रष्टाचार भएको दावी गर्दै दायर गरेको मुद्दामा उच्च तहका सरकारी अधिकारीहरू दोषी ठहर भएका छन् । अख्तियारले वाइडबडी खरिदमा नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका ३२ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा फैसला सुनाउँदै विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले निगमका दुइटा वाइडबडी जहाज खरिदमा तत्कालीन अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, भन्सार विभागका महानिर्देशक शिशिर ढुंगाना र पर्यटन मन्त्रालयका सहसचिव सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो । यी चारै जना निगम सञ्चालक समिति सदस्य थिए । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीका विरुद्ध पनि मुद्दा दायर गरेको थियो तर उनले भने सफाइ पाएका छन् ।
विशेष अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई २ वर्ष ९ महिना कैद सजाय सुनाएको छ । त्यस्तै तत्कालीन अध्यक्ष तथा पर्यटन सचिव अधिकारीलाई १ वर्ष ९ महिना कैद सजाय सुनाइएको छ भने ढुंगाना र लामिछानेलाई १ वर्ष ६ महिना कैद फैसला गरिएको छ । जहाज आपूर्तिकर्तामध्ये दोषी ठहर भएकामा एएआर इन्टरनेसनल इन्कका दिपक शर्मा, जर्मन एभिएसन क्यापिटलका ओलेग कालिस्ट्र, एएआर इन्टरनेसनल इन्कका मुख्य व्यक्ति जोन एम होल्मस, एभिएसन क्यापिटलका प्रबन्ध निर्देशक अना टोपा, हाई फ्लाई एक्सका पाउलो मोरपुरी, गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेन छन् । उनीहरूलाई १ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।
२०७३ सालमा करिब २४ अर्ब रूपैयाँमा दुइटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाइएको थियो । संसद्को सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो ।