सन् २०२४ मा करिब साढे ११ लाख पर्यटक नेपाल भित्रिए, कति बढ्यो पर्यटक संख्या ?
टुरिजमफेस
काठमाडौं । सन् २०२४ मा करिब साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ४७ हजार ५६७ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सो सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढी हो । सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यद्यपि सन् २०२४ मा नेपाल आएको पर्यटकको संख्या सन् २०१९ भन्दा कमी हो । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व भन्दा बढी पर्यटक आउने अपेक्षा गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोनाका कारण सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन निकै घटेको थियो ।
कुन महिनामा कति पर्यटक ?
बोर्डका अनुसार मार्च महिनामा सबैभन्दा बढी एक लाख २८ हजार १ ६७ पर्यटक नेपाल आएका थिए । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक नेपाल आएका थिए ।
डिसेम्बरमा ८९ हजार सात सय ६५, नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए । सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।