सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा, विदेशमा पनि सेवा विस्तारको लक्ष्य

टुरिजमफेस
काठमाडौं । नेपालको हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश गरेको छ । सिद्धार्थको यात्रा सन् १९९८ मा कैलालीको टीकापुरबाट सामान्य होटलको रूपमा सुरू भएको थियो । अहिले कम्पनीले तीन दर्जन बढी चेन होटल स्थापना गरिसकेको छ ।
२७औं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ)कृष्ण न्यौपानेले मुलुकको पर्यटन प्रवद्र्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनाका साथ ‘भिजन २०३०’ मा काम भइरहेको बताए ।
सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको पनि जानकारी दिए । पछिल्लो वर्षमा सिद्धार्थ हस्पिटालिटी आतिथ्यताको क्षेत्रमा गुणस्तरीयताको पर्याय बनेको छ । जसलाई गत वर्ष प्राप्त विभिन्न सम्मानले पुष्टि गर्ने कम्पनीको भनाइ छ । गत वर्ष मात्रै पृथ्वी राजमार्गको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्ट दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट उत्कृष्ट रिभर साइड रिसोर्टको अवार्डबाट सम्मानित भएको थियो ।
साथै बौद्धस्थित सिद्धार्थ बुटिक होटलले उत्कृष्ट बुटिक होटलका रूपमा साटा अवार्ड प्राप्त गरेको थियो । सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले कर्णाली प्रदेश सरकारबाट उत्कृष्ट एचआर प्राक्टिस (मानव संसाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो । त्यस्तै विभिन्न आउलेटहरू उत्कृष्ट सेवा र आतिथ्यताका लागि ट्राभलर च्वाइस अवार्डबाट समेत सम्मानित भएका थिए ।
सिद्धार्थले लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरू गरेको छ । साथै सिद्धार्थले सुर्खेतको होटलबाट कर्णालीमा उत्पादन हुने अर्गानिक खाद्यान्न पनि प्रवद्र्धनमा जोड दिँदै आएको छ ।
मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दैछ । त्यति मात्रै होइन, धनगढीमा पाँचतारे होटलको योजना अगाडि बढाएको छ ।
सिद्धार्थले बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालन गरेको छ, जसमा वाटर पार्क र यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ । हाल रेष्टुरेन्टको काम पूरा भइ सञ्चालनमा आइसकेको छ भने आगामी असारसम्ममा बाँकी काम पूरा हुने जनाइएको छ ।
कम्पनीले धनगढीमै पनि सिद्धार्थ कटेज निर्माण गरिरहेको छ । पाहुनाहरूलाई शान्त वातावरण खुला बगैँचा, आधुनिक सुविधासहित रेस्टुरेन्ट र वाटर पार्क साथै यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ । साथै पर्यटकीय गन्तव्य इलाममा पनि कम्पनीको लग्जरी रिसोर्ट निर्माणको योजना बनाएको छ । हाल सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । कम्पनीले हाल पाँच तारे होटलस्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डमा होटल सञ्चालनमा छन् ।
त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनीअन्तर्गत एस होटल सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सेवा प्रवाह गरिरहेको कम्पनीले आफ्नै होटल सञ्चालनका साथै अन्य होटल व्यवस्थापन गरिरहेको छ ।