चरा उड्दा–उड्दै थाके के गर्छन् ?
टुरिजमफेस
कठमाडौं । नेपालमा पाइने ८९७ प्रजातिका चरामध्ये करिब ६ सय रैथाने हुन् । फिरन्तेचाहीँ कहिलेकाहीं मात्रै देखिन्छन् । ५० प्रजातिका बटुवा चरा भारत, पाकिस्तान, श्रीलंका र अफ्रिकासम्म पुग्छन् ।जसरी जाडो बढेपछि मान्छे हिमाली क्षेत्रबाट बेंसीतिर झर्छन्, चरा पनि त्यस्तै हुन् । स्थायी बासस्थानमा चिसो बढेपछि चारोको खोजीमा उनीहरू न्यानो भूगोलको यात्रामा जान्छन् । माइनस ५० डिग्री सेल्सियसभन्दा बढी न्यूनतम तापक्रम हुने रुसको साइबेरियाका चरासमेत नेपालसम्म आइपुगेका छन् । यसरी दक्षिणतिर बसाइँ सर्ने धेरै चरा हिमालयको फेदीदेखि पहाड र तराईका फाँट, तालतलैया र सिमसारमा रमाउँछन् ।
हिउँदे आगन्तुकमा धेरैजसो पानीचरा प्रजातिका हुन्छन् । खडखडे हाँस, हरियो टाउके हाँस, सिलसिले हाँस, चखेवा, जलेवा, लक्ष्मण सारस, सुइरो ठुँडे, टिमटिमा, चाँचर, अर्जुनक, झ्याप्सी, चुइयाँ, भद्राईलगायत हिउँदे आगन्तुक हुन् । जगदीशपुर ताल, बीसहजारी ताल, घोडाघोडी ताल, कोशीटप्पु, मनोहरा, गण्डकी, नारायणी, सहायक नदी मंगोलिया, किर्गिस्तान, कोरिया, तिब्बत, पूर्वी युरोप र भारतका चिसा ठाउँबाट समेत चरा नेपालसम्म आइपुग्छन् । अनुकूल मौसम, सुरक्षित बासस्थान, न्यानोको खोजी र आहारा नै तिनीहरूको उद्देश्य हो । साइबेरियादेखि झन्डै ५ हजार किलोमिटर छिचोलेर नेपाल आइपुग्न चरालाई कति दिन लाग्ला ? ती लगातार उडेर आइपुग्लान् कि बास बस्दै–बस्दै आउलान् ? उड्दा–उड्दै थाके भने के गर्लान् ?
‘चराले दायाँबायाँ पनि मुभमेन्ट गरिरहेका हुन्छन्, त्यसैले साइबेरियाबाट यहाँ आइपुग्न ५ हजार किलोमिटरभन्दा बढी दूरी पार गरेका हुन्छन्,’ चराविद् कृष्णप्रसाद भुसाल भन्छन्, ‘उत्तरबाट आउने कतिपय चराले हिमशृंखला नै पार गर्छन् भने कतिपय अरुण उपत्यका, कालीगण्डकी र कर्णालीका खोंच–घाँटीबाट प्रवेश गर्छन् ।’
नेपालमा पाइने ८९७ प्रजातिका चरामध्ये ६ सय रैथाने हुन् । रैथाने अर्थात् पहिल्यैदेखि नेपाली भूमिमा विचरण गरिरहेका चराहरू । यस्ता चरा ५ हजार मिटरको उचाइसम्म पाइन्छन् । हिउँद र वसन्त ऋतमा आउनेचाहिँ नियमित आगन्तुक हुन् । फिरन्ते भने कहिलेकाहीं मात्रै देखिन्छन् । यिनीहरू नियमित आउँदैनन्, नेपालको बाटो हुँदै बसाइँसराइ गर्ने पनि होइनन् । ‘१० पटकभन्दा बढी देखियो भने तिनलाई बटुवा वा आगन्तुकको सूचीमा राखिन्छ,’ भुसाल भन्छन्, ‘हामीकहाँ फिरन्ते ७४ प्रजातिका छन् ।’
नेपाल हुँदै अरू देश जानेचाहिँ बटुवा चरा हुन् । करिब ५० प्रजातिका बटुवा चरा भारत, पाकिस्तान, श्रीलंका र अफ्रिकासम्म पुग्छन् । नेपालमा पाइने सबै चरा वर्षभरि यहीं भेटिँदैनन् । कुनै भारततिर जान्छन् त कुनै तिब्बत–चीनतिर । त्यसो त जाडोमा मात्रै आगन्तुक चरा भित्रने होइनन् । वसन्त ऋतु लागेपछि करिब ६५ प्रजातिका ग्रीष्मकालीन चरा नेपाल उक्लिन्छन् । यसरी चराको बसाइँसराइ वर्षभरि नै चलिरहन्छ ।
जाडो छल्न भित्रिएका चरा चैतदेखि स्थायी बासस्थानतर्फ फर्कन थाल्छन् भने त्यही समय ग्रीष्मकालीन चराको नेपाल यात्रा सुरु भइसक्छ । ती असोजसम्म यतै बसेर बच्चा कोरलेर मात्रै फर्कन्छन् । त्यस्ता चरामा विशेषगरी कोइली प्रजातिका बढी हुन्छन्, धेरैजसो कोइलीले अरूकै गुँडमा बच्चा कोरल्छन् । सुनचरी, मुरलीचरी, कटुस टाउके, रानीचरी, नीलपुच्छ्रे, चित्रक पिट्टा, गाजले पिट्टा, लालचुच्चे ठेउवालगायत ग्रीष्मकालीन आगन्तुक हुन् । तिनीहरूको मुख्य विचरण क्षेत्र वन, आसपासका घाँसेमैदान र कृषि भूमि हुन् । यस्ता चरा भारतको गर्मी भूभाग र अफ्रिकासम्मबाट आउँछन् । हिउँदमा आउने करिब डेढ सय प्रजातिका चरामा अधिकांश जलपन्छी हुन्छन् । ‘हामीकहाँ सिमसार क्षेत्रमा आश्रित करिब २ सय प्रजातिका छन्, पानीमै मात्र बस्नेचाहिँ एक सयभन्दा बढी होलान्,’ चराविद् हेमसागर बराल भन्छन्, ‘माछा खाने माटिकोरेलाई जलपन्छी भन्न मिलेन, त्यो सिमसार आश्रित हो ।’
हिउँदे चरा विशेष गरी उत्तरबाट दक्षिण आउँछन् । ‘त्यसो त कोशी टप्पुतिर भारतको सिक्किमतिरबाट पनि आउन सक्छन्,’ वेटल्यान्ड्स इन्टरनेसनलका नेपाल संयोजक लक्ष्मणप्रसाद पौड्याल भन्छन्, ‘कर्णाली, महाकाली नदीमा अफगानिस्तानको सिमाना, भारतका उत्तरी भेगतिरबाट पनि आउँछन् ।’
चराको आफ्नै बाटो !
हवाईजहाजको रुटजस्तै चराले पनि बसाइँ सर्दा आफ्नो बाटो तय गरेका हुन्छन् । जुन रुटबाट आएका हुन्छन्, फर्कंदा धेरैले सोही बाटो प्रयोग गर्छन् । चराविद् भुसालका अनुसार खोया हाँस, चखेवाजस्ता चरा पहिलेकै रुट पछ्याएर फर्कन्छन् भने क¥याङकुरुङ सारस त्यही बाटो कमै फर्कन्छन् । ‘मंगोलियामा सेटेलाइट ट्याग लगाइएका ६ वटा क¥याङकुरुङ सारस कर्णालीको भेरी कोरिडोरबाट प्रवेश गरेका थिए,’ उनले भने, ‘भारतको गुजरातमा हिउँद बिताएर उतैबाट पाकिस्तान, अफगानिस्तान हुँदै माथि पुगेर पूर्वतिर मंगोलिया नै फर्किएको अभिलेख पनि छ ।’
विश्वमा चराको उडान–मार्ग ९ वटा छन्, जसलाई ‘फ्लाई–वे’ भनिन्छ । नेपाल ‘सेन्ट्रल एसियन फ्लाई–वे’ मा पर्छ, यसले ३२ देश समेट्छ । आफ्नै मार्ग पछ्याउँदै उडान भर्ने चराले लामो यात्राअघि कस्तो तयारी गर्छन् त ?
‘कतै टाढा निस्कनुअघि हामी पनि खाना खाएरै निस्कन्छौं नि, चराको तयारी पनि यस्तै हुन्छ,’ भुसाल भन्छन् । उनका अनुसार, शरीरमा फ्याट जम्मा हुने गरी टन्न खान्छन् चराले, शारीरिक संरचना पनि त्यस्तै बनेकाले यात्राका लागि तयार भइहाल्छन् । बसाइँसराइ गर्नेको वंशानुगत गुणले समेत लामो यात्रामा धेरै कठिनाइ हुँदैन ।
लामो यात्रामा उड्ने चरा धेरैजसो समूहमै हुन्छन् । विशेषगरी बसाइँसराइ गर्नेहरूले आकाशमा ‘भी’ आकार बनाएर समूहमा उड्ने बताउँछन्, चराविद् बराल । ‘हावाको बहाव नियन्त्रण गर्न पनि यसो गरेका हुन सक्छन् । निश्चित ‘लिडर’ नभए पनि बसाइँसराइ क्रममा अगाडिको चरा थाकेपछि अरूले पालो दिनेचाहिँ देखिन्छ,’ उनले भने ।
चिसो बढेपछि बसाइँसराइ सुरु हुने भए पनि कतिपय अवस्थामा मौसम बुझेर मात्रै तिनको यात्रा सुरु हुन्छ । मौसम गडबड भयो भने यात्रा केही दिन सर्न सक्छ । ‘झरी, बादल लागिरह्यो भने विचार गर्छन् । किनकि उडान–मार्ग सफा हुनु जरुरी छ,’ भुसाल भन्छन्, ‘उड्दा–उड्दै कुनै मौसमी अवरोध आइप¥यो भने बीचमै ट्रान्जिट लिन सक्छन् । जस्तै ः क¥याङकुरुङ सारस कालीगण्डकी करिडोरतिर, मुस्ताङका जौबारी, फापरबारीमा बसिराखेको देखिएको छ ।’
चरा–यात्राको अर्को जोखिम सिकारी हुन् । चिलले आकाशमै पनि कमजोर चरालाई आक्रमण गर्न सक्छन् । कतिपय भने उडान भर्न सक्दैनन् र बीचमै छुट्छन् । ‘स्टपओभर साइट’ (विश्राम गर्ने वा बास बस्ने ठाउँ) मा मान्छेले थापेका जालमा पनि ठूलो संख्या फस्न सक्छन् । यसरी बसाइँसराइमा निस्किएका सबै चरा गन्तव्यमा पुग्दैनन् ।
खोया हाँस विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइभन्दा माथिबाट यात्रा गर्दै आइपुगेको चराविद्ले अभिलेख राखेका छन् । यो साहसी हाँसले ९ हजार मिटरमाथिसम्म उडान भर्न सक्छ । खोया हाँस विशेषगरी चीनको छिङहाई ताल र आसपासबाट जाडो बिताउन नेपालसम्म आइपुग्छन् । गत माघ पहिलो साता कपिलवस्तुको जगदीशपुर तालमा पनि ६ वटा खोया हाँस देखिएका थिए ।
यस्तै लक्ष्मण सारस ८ हजार मिटरसम्मको हिमाल पार गरेर आउन सक्छ । अफ्रिका महादेशबाट आउने ग्रीष्मकालीन चरा जुरे कोइलीले त करिब ५ हजार किलोमिटर दूरी पार गर्छ ।
हालै मात्र पोखरामा ‘सेटेलाइट ट्याग’ लगाएर छाडिएको सेतो गिद्ध २५० किलोमिटर दूरी पार गर्दै भारतको अयोध्या पुगेर फर्किएको थियो । रूपन्देही, कपिलवस्तु हुँदै भारत प्रवेश गरेको उक्त गिद्ध अयोध्याको घाँघरा नदी आसपास तीन दिन बसेको थियो । फर्कने क्रममा कपिलवस्तुको राजापानी सामुदायिक वन, स्याङ्जाको पुतली बजार हुँदै पोखरा आइपुगेको चराविद् भुसालले बताए । यो विश्वमै दुर्लभ गिद्धमा पर्छ ।
बसाइँसराइमा चराले विशेषगरी ल्यान्डमार्क ख्याल गर्छन् । खोलानदी, चुम्बकीय दिशा, तारा र चन्द्रमाका आधारमा उनीहरू आफ्नो रुट पत्ता लगाउँछन् । धेरैजसो चरा त रातको समयमा बसाइँ सर्छन् । लामो यात्रा गर्नुपर्ने हुँदा शरीरबाट धेरै ऊर्जा प्रयोग गर्नुपर्छ, ताप बढ्छ । त्यसैले दिउँसो धापिनुभन्दा रातको शीतलता तिनको रोजाइ बन्छ । राति उड्नुको अर्को फाइदा सिकारी चराबाट बच्नु पनि हो ।
चरा–चिन्ता
जलवायु संकट, बासस्थानको खण्डीकरण, अवैध सिकार र अव्यवस्थित विद्युतीय पूर्वाधार चराका मुख्य चुनौती हुन् । ताल वा पोखरी वरिपरि घर तथा होटल–रेस्टुरेन्टजस्ता भौतिक संरचना बन्दा त्यसको असर चरामा पर्न थालेको छ । फोहोर र ध्वनि प्रदूषणले पनि चरा कम हुन थालेका छन् । विज्ञका अनुसार, बसाइँसराइ गर्नेमध्ये १० प्रतिशत चरा सधैं सुरक्षा चुनौतीमै रहन्छन् ।
नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरी प्राकृतिक रूपमा र मानवसिर्जित गतिविधिले सीमसार क्षेत्रमा विनाश निकै बढेकामा चिन्तित छन् । ‘कञ्चनपुरको पुरैनी ताल र बन्दा ताल त सिद्धिने क्रममा छन् । माछा मार्ने, विषादी हाल्ने गरिएको छ,’ उनी भन्छन्, ‘पुरैनी जलकुम्भीले भरिएको छ । बर्दियाको बढैया तालको अवस्था पनि त्यस्तै छ । चराको बासस्थानको विनाश बढ्दै जानु चिन्ताको विषय हो ।’
ताल–पोखरी वरिपरिको मात्रै होइन, सिमसार र धाप क्षेत्रमा बढेको मानवीय अतिक्रमणले पनि चराको नियमित क्रियाकलाप बिथोलिएको छ । वनक्षेत्र बढे पनि घाँसे मैदान र सिमसारमा आश्रित चरा संकटमै रहेको चराविद् बराल बताउँछन् । सिमसार क्षेत्र सुक्दै जानु, चोरीसिकारी बढ्नु र खेतबारीमा विषादीको प्रयोग हुनु चराका लागि चुनौती हो ।
वेटल्यान्ड्स इन्टरनेसनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा हालै जलपन्छी गणना सकिएको छ । पूर्वमा कोशीदेखि धनुषा, चितवन, मनोहरा, टौदह, पोखराका विभिन्न ताल, रारा, नवलपुर, लुम्बिनी, बर्दिया, शुक्लाफाँटासम्म भएको गणनामा हिउँदे आगन्तुक चराको बसाइँसराइ त्यति राम्रो नदेखिएको बताउँछन्, पन्छीविद् संघका अध्यक्ष चौधरी । ‘जाडो ढिलो सुरु भएर पनि होला । चराको संख्या ठिकै छ, तर केही प्रजाति यसपालि देखिएनन्,’ उनी भन्छन्, ‘चरा भित्रने मुख्य समय नोभेम्बर–डिसेम्बर हो, अब भित्रने सम्भावना निकै कम छ ।’ गत वर्ष ७० प्रजातिका करिब ६५ हजार जलपन्छी गणना गरिएको थियो ।
किन चाहिन्छ चरा ?
चरा केवल पर्यावरण चक्रका लागि होइन, यो सामाजिक–सांस्कृतिक पक्षसँग पनि अटुट रूपमा जोडिएको छ । वेटल्यान्ड्स इन्टरनेसनलका नेपाल संयोजक लक्ष्मणप्रसाद पौड्याल कस्ता चरा कति छन् भन्ने आधारमा त्यहाँको वातावरणीय सन्तुलन छ÷छैन भन्ने बुझिने बताउँछन् । ‘वातावरणको सूचनाका लागि पनि चरा महत्त्वपूर्ण छन्,’ उनी उदाहरण दिन्छन्, ‘कीर्तिपुरमा काग बढी छन्, बल्खु आसपास चिल । यसले ती क्षेत्रमा फोहोरमैला बढी रहेछ भन्ने बुझ्नुपर्छ । पानीचरा पोखरीमा मजाले पौडिरहेका छन् भने त्यहाँको पानी सफा रहेछ भन्ने थाहा हुन्छ ।’ चराको गतिविधि भइरहने तालतलैया चाँडै नपुरिने उनी बताउँछन् ।
विश्वमा चराका ११ हजारभन्दा बढी प्रजाति छन् । यसमध्ये करिब २२ सय २५ प्रजातिका चरा बसाइँसराइ गर्नेमा पर्छन् । विश्वमै दुर्लभमध्ये नेपालमा ४० प्रजातिका चरा छन् । यसमा जलपन्छी मात्रै १३ वटा छन् । हामीकहाँ भएका १६८ प्रजातिका चरालाई विश्वव्यापी संकटको सूचीमा राखिएको छ ।
नेपालमा सन् १८४६ यता ९ प्रजातिका चरा लोप भएका थिए । त्यसमध्येकै एक प्रजाति चितवनमा फेला प¥यो, १७८ वर्षपछि । २०७३ जेठमा चराविद् हेमसागर बरालसहितको टोलीले पत्ता लगाएको चरा थियो– सिम्रिककाने लियोसिस्ला (रेड फेस्ड लियोसिस्ला) । यसको कान, पुच्छर र पखेटामा सिम्रिकको जस्तो रङ हुन्छ । लजालु स्वभावको यो चरालाई बरालको टोलीले चितवनको उपरदाङगढी र सिराइचुलीमा फेला पारेको थियो ।
करिब २ सय वर्षयता नेपालमा अझै ८ प्रजातिका चरा लोप भएकै सूचीमा छन् । ‘गुलाफी टाउके हाँस (पिंक हेडेड डक) तराईका वनभित्रको तालमा पाइन्थ्यो । यो चरा अन्तिम पटक नेपालमा सन् १८४६ मा रेकर्ड भएको थियो । भारत, बंगलादेश, म्यानमारको उत्तरी भागसम्म पाइने यो चरा विश्वबाटै लोप भएको कतिपय विज्ञले अनुमान गरेका छन्,’ चराविद् बराल भन्छन्, ‘गैरीकलाव बट्टाई, ठूलो वनबकुल्ला, होमराई, फुस्रो चित्रकुट, खैरो मुसेफिस्टो, तराई बान्दरचरी र हरियो कोचोवा पनि नेपालबाट लोप भइसकेका छन् ।’
चरा हुन्– प्रकृतिका सुन्दर उपहार । खेतीबालीका किराफट्याङ्ग्रा वा घर नजिकका मुसा खाएर यिनले हामीलाई सहयोग गर्छन् । यस अर्थमा चरा हाम्रा प्रिय मित्र हुन् । गिद्धलाई त ‘प्रकृतिको कुचीकार’ नै भनिएको छ । नेपालमा ससाना फिस्टे चरादेखि ६ फिटसम्म अग्लो सारस र १२ किलोसम्मको हिमाली गिद्धसमेत पाइन्छ । जैविक विविधता भएको नेपालमा चराको विविधता अर्को महत्त्वपूर्ण पक्ष हो । सामाजिक–सांस्कृतिक पक्षमा जोडिएको चरा संरक्षण गरी हामीले तिनबाट पर्याप्त सहयोग लिन सक्नुपर्छ ।
