काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब डेढ घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ। टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टिके–७२६ नम्बरको विमान अवतरणका क्रममा चक्कामा आगो देखिएपछि विमानस्थलको उडान तथा अवतरण सेवा केही समयका लागि रोकिएको थियो।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार बिहान ६ः४५ बजेबाट रोकिएको सेवा करिब ८ः३० बजेपछि पुनः सुचारु गरिएको हो। त्यसपछि एयर इन्डिया र फ्लाइ दुबईका जहाज सुरक्षित रूपमा अवतरण गरिसकेका छन् भने अन्य नियमित उडानसमेत सञ्चालनमा आएका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले विमानको चक्काबाट निस्किएको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जानकारी दिए।
घटनापछि विमानलाई रनवेमै रोकेर आपतकालीन ढोका प्रयोग गरी यात्रुहरूको उद्धार गरिएको थियो। विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य सवार रहेको जनाइएको छ।
प्रारम्भिक रूपमा सबै यात्रु सुरक्षित रहेको बताइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको विमानस्थल स्रोतले जनाएको छ।