मासिक दुई हजार बढीले वृद्धि भयो श्रमिकको न्यूनतम पारिश्रमिक

टुरिजमफेस
काठमाडौं । नयाँ आर्थिक वर्षसँगै श्रमिकको न्यूनतम पारिश्रमिक मासिक दुई हजार रूपैयाँ भन्दा बढीले वृद्धि भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको सरकारी पक्ष तथा रोजगारदाता र श्रमिक संगठनबीचको छलफलले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रूपैयाँ बनाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले बताए ।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रूपैयाँ थियो । श्रम ऐन, २०७४ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले लामो परामर्श र छलफलपछि न्यूनतम पारिश्रमिक तोक्न सहमति जुटेको बताए ।