हिमाचल प्रदेशमा एक युवतीले एकसाथ दाजुभाइसँग बिहे, यस्तै हो परम्परा ?

टुरिजमफेस
काठमाडौं । भारतको हिमाचल प्रदेशमा पर्ने सिरमौर जिल्लाको शिलाई गाउँमा एउटा अनौठो विवाहबारे निकै चर्चा र बहस भइरहेको छ । चर्चाको कारण कुन्हट गाउँकी सुनीता चौहान हु । उनले एकै परिवारका दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकसाथ विवाह गर्दा सबैले अचम्म मानेका छन् ।
यो विवाह अनुसूचित जनजातिका रूपमा दर्ज हाटी समुदायको पुरानो बहुपति परम्पराअन्तर्गत भएको हो । जसलाई स्थानीय भाषामा जोडीदारा वा जाजडा भनिन्छ । सिरमौरको ट्रान्स गिरी क्षेत्रमा भएको यस विवाहमा सयौँ जना गाउँले र आफन्त उपस्थित थिए । परम्परागत खाना, लोकगीत र नृत्यले यो कार्यक्रमलाई अझ यादगार बनायो । यो विवाह सांस्कृतिक परम्पराको उदाहरण भए पनि यसले वर्तमान समयमा धेरै प्रश्न पनि उठाएको छ ।
जोडीदारा प्रथाः कति पुरानो परम्परा ?
दुलहीको परिवार सिरमौर जिल्लाको कुन्हट गाउँको हो, जुन बेहुलाको गाउँ शिलाईबाट लगभग १५ किलोमिटर टाढा छ । यो क्षेत्र राज्यको राजधानी शिमलाबाट लगभग १३० किलोमिटर टाढा छ ।
दुवै परिवार हाटी समुदायका हुन् । यो समुदाय मूल रूपमा सिरमौर जिल्लाको ट्रान्स गिरी क्षेत्रका साथै उत्तराखण्डको जौन्सर–बावर र रवई–जौनपुर क्षेत्रमा बसोबास गर्छ । यस समुदायमा बहुपतित्वको प्रथा लामो समयदेखि प्रचलित छ । यस प्रथाबारे जानकार व्यक्तिहरू यसको उद्देश्य परिवारभित्र पारस्परिक एकता कायम राख्नु र पैतृक सम्पत्तिको विभाजन रोक्नु हो भन्ने विश्वास गर्छन् ।
यस प्रथामा एक महिलाले दुई वा सोभन्दा बढी दाजुभाइसँग विवाह गर्छिन् र घरायसी जिम्मेवारीहरू आपसी सहमतिमा पूरा गरिन्छ । सिरमौरका साथै यो परम्परा शिमला, किन्नौर र लाहौल स्पितिका केही भागमा पनि देखिन्छ ।
स्थानीय बासिन्दा कपिल चौहान भन्छन्, ‘जोडीदारा प्रथा हाम्रो पहिचान हो । यसले सम्पत्तिको विभाजन रोक्न, दाइजो प्रथाबाट बच्न, दाजुभाइबीच एकता कायम राख्न र बच्चा हुर्काउन मद्दत गर्छ ।’
उनका अनुसार, शिलाई क्षेत्रका लगभग हरेक गाउँमा ४ देखि ६ वटासम्म परिवारले यो प्रथा पालना गर्छन् । कपिल चौहानलाई हालै भएको विवाहका विषयमा भइरहेको बहसबारे सोध्दा भने, ‘मलाई यस विषयमा धेरै समयदेखि थाहा थियो। यो अचानक भएको होइन । यो एक परम्परा हो । यो हाम्रा लागि गर्वको कुरा हो, जबसम्म दुलहा, दुलही र उनीहरूका परिवार यसमा सहज हुन्छन्, अरूलाई यसमा कुनै सरोकार हुँदैन ।’ उनले थपे, ‘यो स्वीकार गर्नुपर्छ, मानिसहरू लिभ इन रिलेसनसिपमा पनि त सहज छन् ।’
विवाहको कथाः सहमति र सांस्कृतिक गौरव
जुलाई १२ मा सुरु भएको यस विवाह समारोहको एउटा पक्ष भनेको दुलही र उनका पति दुवै शिक्षित हुन् । दुलही सुनीता चौहानले आईटीआईबाट अध्ययन गरेकी छन्। प्रदीप नेगी राज्य सरकारको जल शक्ति विभागमा काम गर्छन् र कपिल नेगी विदेशमा हस्पिटालिटी क्षेत्रमा काम गर्छन् ।
सुनीताले विवाहबारे बीबीसी हिन्दीसँग भनेकी छन्, ‘यो मेरो आफ्नै निर्णय थियो। मलाई यो परम्पराबारे थाहा थियो। मैले यसलाई अपनाएँ ।’ प्रदीप नेगी भन्छन्, ‘हाम्रो संस्कृतिमा यो विश्वास, हेरचाह र साझा जिम्मेवारीको सम्बन्ध हो।’ कपिल नेगीले भनेका छन्, ‘विदेशमा बसे पनि म यो सम्बन्धप्रति प्रतिबद्ध छु र मेरी श्रीमतीलाई स्थिरता र माया दिन चाहन्छु ।’
जोडीदारा प्रथामा जन्ती दुलहीका तर्फबाट चाहिँ बेहुलाको घरमा जान्छ। यही कारण यो परम्परालाई अन्य भारतीय विवाह परम्पराभन्दा फरक मानिन्छ ।
वजिब–उल–अर्ज र कानुनी मान्यता
हिमाचल प्रदेशमा जोडीदारा प्रथा ’वजिब–उल–अर्ज’ भनिने औपनिवेशिक युगको राजस्व दस्तावेजमा दर्ता छ । यो दस्तावेजले गाउँका सामाजिक र आर्थिक अभ्यास दर्ता गर्छ र जोडीदारलाई हाटी समुदायको परम्पराका रूपमा मान्यता दिन्छ ।
यस प्रथाको उद्देश्य कृषि भूमिको विभाजन रोक्न र परिवारलाई एकताबद्ध राख्नु हो भनिएको छ । हिन्दु विवाह ऐनले एक पत्नी विवाहलाई मात्र वैध मान्छ, त्यसैले त्यस किसिमको विवाहको कानुनी स्थितिबारे प्रश्न उठ्छ ।
हिमाचल प्रदेश उच्च अदालतका वकिल सुशील गौतम भन्छन्, ‘दुवै विवाह एकैसाथ हुने भएकाले हिन्दु विवाह ऐन १९५५ को धारा ५ र भारतीय न्याय संहिताको धारा ३२ लागु हुँदैनन्।’
ऐतिहासिक र सांस्कृतिक जरा
जोडीदारा प्रथाले ट्रान्स गिरी क्षेत्रमा गहिरोसँग जरा गाडेको मानिन्छ। यो महाभारतको द्रौपदीको कथासँग जोडिएको छ, त्यसैले धेरै मानिसले यसलाई ’द्रौपदी प्रथा’ पनि भन्छन् ।
हिमाचल प्रदेशका प्रथम मुख्यमन्त्री डा. वाई.एस. परमारले आफ्नो पुस्तक ’पोलियान्ड्री इन द हिमालयाजÞ’मा यस प्रथाका सामाजिक र आर्थिक कारण विस्तृत रूपमा उल्लेख गरेका छन् ।
उनका अनुसार, ‘यो प्रथा पहाड क्षेत्रको कठिन परिस्थितिमा विकास भएको थियो, जहाँ सीमित कृषि भूमिलाई एकसाथ राख्न आवश्यक थियो ।’ हाटी समुदायसँग सम्बन्धित विद्वान् र सामाजिक कार्यकर्ता अमीचन्द हाटी भन्छन्, ‘यस प्रथालाई सामाजिक स्वीकृति छ र यसले समुदायको एकता र परम्परा प्रतिबिम्बित गर्छ। यसलाई सामुदायिक मूल्यको संरक्षणका रूपमा हेर्नुपर्छ ।’
केन्द्रीय हाटी समितिका महासचिव कुन्दन सिंह शास्त्रीका भनाइमा यो प्रथा धेरै पुरानो हो र यसको उद्देश्य परिवारको एकता कायम राख्नु हो ।
सामाजिक बहस र आलोचना
यो विवाहपछि सामाजिक र नैतिक बहस पनि सुरु भएको छ। केही मानिस यसलाई सहमति र व्यक्तिगत छनोटको विषय मान्छन्, तर धेरै संस्थाले यसलाई महिला अधिकारविरोधी भनेका छन् ।
अखिल भारतीय लोकतान्त्रिक महिला संघकी महासचिव मरियम धवलेले भनिन्, ‘यो प्रथाले महिला शोषणलाई बढावा दिन्छ र उनीहरूका मौलिक अधिकार उल्लंघन गर्छ ।’
हिमाचल प्रदेशमा सीपीआईएमका पूर्वराज्य सचिव डा. ओमकार शादले पनि यसलाई संविधान र कानुनविरोधी भने । हिमाचल प्रदेश सरकारका उद्योग मन्त्री तथा शिलाईका विधायक हर्षवर्धन चौहान भन्छन्, ‘यो शिलाईको पुरानो परम्परा हो। प्रदीप र कपिलले यो प्रथालाई जीवित राखेर आफ्नो सांस्कृतिक सम्पदाको सम्मान गरेका छन् ।’ एजेन्सीको सहयोगमा तयार पारिएको