बुद्धका कारण नेपाल विश्वभर चिनिएको छः मन्त्री पाण्डे

टुरिजमफेस
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण नेपाल विश्वमा चिनिएको बताएका छन् ।
गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको सङ्ख्या विश्वमै बढिरहेको उल्लेख गरे ।
मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गर्दै भने, ‘भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्ध मार्गबाट मात्र सम्भव हुन्छ ।’
नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उनले स्पष्ट पारे ।