नेपालको पर्यटन ५० वर्ष अघिकै अवस्थामा, कहाँ चुकिरहेका छौं ?

रुद्र खड्का
काठमाडौं । ५० वर्षयता नेपालमा धेरै परिवर्तन भइसके । पञ्चायती व्यवस्था हुँदै लोकतान्त्रिक र गणतान्त्रिक शासन व्यवस्था आमसर्वसाधारणले भोगिसके । शासन सत्तामा हजारौं नयाँ अनुहार आइसके ।
देशभित्रका अधिकांश बस्तीमा सडक पुगिसक्यो । कैयन दुर्गम वस्तीले सुगमको दर्जा पाइसके । नेपाली युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्नाले कैयनको जीवन स्तरमा सुधार भइरहेको छ । सहरीकरणले तीव्रता पाइरहेको छ । गरिबीको न्यूनिकरण भएको छ । अंग्रेजी शिक्षा अध्ययन गर्ने क्रम बढ्दै छ । नेपाली युवा संसारका विभिन्न मुलुकमा पुगिरहेका छन्, जसले नेपाल संसारसँग जोडिरहेको छ ।
यस्ता तमाम परिवर्तन हुँदै गर्दा नेपालको सबभन्दा बढी सम्भावना मानिएको पर्यटन क्षेत्रको हालत भने ५० वर्षअघिकै अवस्थामा रहेको एउटा सरकारी तथ्यांकले गिज्याइरहेको छ । यद्यपि यतिखेर निजी क्षेत्रले पर्यटनसँग पूर्वाधारको भने व्यापक विकास गरेको छ । तर ती पूर्वाधार उपयोग नहुने अवस्था छ किनकि पर्यटन क्षेत्र ५० वर्षअघि जस्तो थियो अहिले पनि उस्तै छ ।
खासगरी नेपाल घुम्न आउने पर्यटकको नेपाल बसाइँमा अझै पनि कुनै सुधार हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् १९७५ मा नेपाल आउने पर्यटकको औसत बसाइँ १३ दशमलव ५ दिन हुने गरेकोमा सन् २०२४ मा विदेशी पर्यटक नेपालमा औसत त्यति नै अर्थात १३ दशमलव ३ दिन नेपाल बस्ने गरेको मन्त्रालयले जनाएको छ ।
जबकि नेपालमा पर्यटनको सम्भावना देखेर निजी क्षेत्रले यतिखेर देशभरि गरेर ३६ लाख पर्यटकलाई सेवा दिने होटलको विस्तार गरिसकेको छ । नेपालमा पर्यटनको सम्भावना देखेर विदेशी चेन होटल भित्रिसकेका छन् ।
होटल एशोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार पर्यटन क्षेत्रका लागि कसरी अघि बढ्ने भन्ने योजना बन्न नसक्दा यसले फड्को मार्न नसकेको हो । ‘त्यति मात्र होइन पर्यटन क्षेत्रको विकासका लागि घोषणा गरिएका कार्यक्रम पनि कार्यान्वयन नगर्ने क्रम मौलाउँदै गएको छ,’ शाहले भने, ‘बजेटमा घोषणा गरिएका कार्यक्रम नै कार्यान्वयन गर्न नसक्नुको अर्थ पर्यटन क्षेत्रको विकासमा अधिकांश सरकार गम्भीर छैनन् भन्ने हो ।’
झन्डै ५० वर्षदेखि पर्यटनलाई व्यवसाय बनाउँदै आएका अर्का व्यवसायी फुर्वा ग्याल्जेन शेर्पा पनि राज्यले पर्यटन क्षेत्रलाई चिन्न नसकेको ठान्छन् । ‘मेरो ५० वर्षदेखिको अनुभवको आधारमा कुरा गर्ने हो भने नेपालले पर्यटन क्षेत्रबाट प्रशस्त लाभ लिन सक्छ,’ उनी भन्छन्, ‘तर जति सम्भावना छ त्यस अनुसार लाभ लिन सकिएको छैन, राज्यले पर्यटनको महत्व नै बुझ्न सकेको छैन ।’
निजी क्षेत्र र त्यसमा पनि केही व्यक्तिले मात्र पर्यटनको महत्व र सम्भावना बुझेको र सोही बुझाइले अहिलेसम्म टिकाइरहेको उनी ठान्छन् ।
यद्यपि यस अवधिमा पर्यटन क्षेत्रको विकास र यसलाई लाभयुक्त बनाउनका लागि नेपाल टुरिजम बोर्डलगायतका निकाय स्थापना गरिएका छन् । ५० वर्षअघि जे अवस्था थियो, अझै पनि त्यही कायम हुने भने त्यस्ता निकायको के काम भन्ने प्रश्न पनि गर्न थालिएको छ ।
मन्त्रालयका सहप्रवक्ता गोकर्णप्रसाद उपाध्याय स्वदेशमा भन्दा विदेशमा कार्यक्रम गर्न रमाउने, टुक्रे कार्यक्रममा बजेट विनियोजन गर्ने, पर्यटन क्षेत्रको विकासमा नयाँपन दिन नसक्ने वर्षौदेखिका समस्या रहेको बताउँछन् ।

सन् १९७५ को तुलनामा सन् २०२४ मा पुग्दा पर्यटक आगमनको संख्या भने बढेको छ । सन् १९७५ मा ९२ हजार ४ सय ४० पर्यटक नेपाल आएकोमा सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ४८ पर्यटक नेपाल घुम्न आएको मन्त्रालयले जनाएको छ । नेपालजस्तै पर्यटकीय सम्भावना भएको मुलुकमा भने ठूलो संख्यामा पर्यटक चहलपहल हुने गर्छ । थाइल्याण्डमा वर्षमा २ करोड पर्यटक पुग्छन् । नेपालको सम्भावना हेर्दा पनि कम्तीमा हरेक वर्ष एक करोड पर्यटक आउनुपर्नेमा सबै सहमत छन् ।
संसारकै सबभन्दा अग्लो हिमाल सगरमाथादेखि अन्य ८ अग्ला हिमाल नेपालमै छन् । गौतम बुद्धको जन्मस्थान लुम्बिनी तथा पशुपतिनाथ धार्मिक पर्यटनका मुख्य आकर्षक हुन् । लोपोन्मुख जनावरदेखि विभिन्न निकुञ्ज, ट्रेकिङ, प्राकृतिक सम्पदा पर्यटक लोभ्याउने आकर्षक नेपाली गन्तव्य हुन् ।