अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

टुरिजमफेस
काठमाडौं । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक पेस गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको बताए ।
संवैधानिक व्यवस्थालाई मूर्तरूपमा कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण तथा व्यवस्थापनसम्बन्धी कानुन बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी ऐनको तर्जुमा गर्नु बाञ्छनीय भएकाले विधेयक पेस गरिएको बताए ।
के हो अभौतिक सांस्कृतिक सम्पदा ?
अभौतिक सांस्कृतिक सम्पदा भनेको भौतिक रूपमा देख्न वा छुन नसकिने तर कुनै समुदाय, जाति वा राष्ट्रको संस्कृति, पहिचान र इतिहाससँग गहिरो सम्बन्ध राख्ने अमूर्त सम्पदा हो ।
यसमा मूर्त वस्तु (जस्तै घर, मन्दिर, मूर्ति) जस्तो भौतिक स्वरूप हुँदैन, तर यो ज्ञान, सीप, परम्परा, विश्वास, मूल्य, र अभिव्यक्तिको रूपमा जीवित रहन्छ ।
यस्ता सम्पदामा लोक परम्परा र मौखिक अभिव्यक्ति, कथा, मिथक, लोकगीत, लोककथालगायत पर्छन् । दशैं, तिहार, इन्द्रजात्रा, विवाह संस्कार, जन्मोत्सव नृत्य, नाटक, संगीत, पञ्चेबाजा, गाईजात्रा, घोडेजात्रा जस्ता परम्परा यसका उदाहरण हुन् ।
त्यस्तै प्राकृतिक वातावरण र ब्रह्माण्डसँग सम्बन्धित परम्परागत ज्ञान, कृषि विधि, आयुर्वेद, ज्योतिष, मौसम पहिचानका सीप, परम्परागत सीप र कारीगरी, हातले बुनेको ढाका, धातुका मूर्तिकलाहरू, ढुंगामा कलाकृति उत्कीर्ण गर्ने सीप पनि यसअन्तर्गत पर्छन् । खासगरी अभौतिक सांस्कृतिक सम्पदा पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको जीवित संस्कृति हो र जसले जुन कुनै समुदायको पहिचान, गर्व र सामाजिक एकताको आधार बोकेको हुन्छ ।