पर्यटक लोभ्याउने जल्पाताल पदमार्गको अभाव हुँदा ओझेलमा

टुरिजमफेस
बागलुङ । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् ।
बागलुङको ढोरपाटन नगरपालिका- ९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जल्पातालसम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् ।
ताल बागलुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने हुँदा दुई जिल्लाका गोठाला यहाँ बस्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदलयात्रामा जल्पाताल पुग्न सकिन्छ । तर अहिलेसम्म यस तालसम्म पुग्ने गतिलो पदमार्गको अभाव छ । छिटफुट पुग्ने पर्यटक अन्दाजकै भरमा जल्पातालसम्मको यात्रा गरेर फर्कन्छन् ।
ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्रकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए ।
जल्पातालमा अहिलेसम्म पर्यटक पुर्याउन नसकेको भन्दै राज्यले नै प्रचारप्रसार गर्नुपर्ने उनको तर्क छ । तालसम्म पुग्ने पदमार्ग बनाउन जरुरी रहेको उनको भनाइ छ । गोठालाको बासस्थानका रूपमा रहेको जल्पाताललाई पर्यटक उकाल्न पर्यटन बोर्डसँगै स्थानीय, प्रदेश र सङ्घ सरकारले पहल थाल्नुपर्ने उनको सुझाव छ ।
“गत वर्षसम्म बुकीपाटन आझेलमा थियो । प्रचारप्रसार र त्यहाँसम्म पुग्ने पदमार्ग लगायतका संरचना बनेपछि अहिले दैनिक एक सय बढी पर्यटक टीकाधारा, गर्पाछेडा पुग्छन्”, उनी भन्छन्, “अब जल्पातालको पनि प्रचारप्रसार गरी पूर्वाधार निर्माण गनुपर्नेछ । पर्यटकको आगमनलाई बढाउनुपर्ने देखिन्छ । हामी स्थानीयका तर्फबाट गर्नुपर्ने जिम्मेवारी हामी पूरा गर्छौँ । राज्यले पनि त्यही अनुसारको कदम चाल्नुपर्छ ।”
जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ । प्रवर्द्धन गर्न सक्ने हो भने कुमारी गन्तव्य भएकाले तालसम्म पुग्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने तनहुँबाट घुम्न पुग्नुभएका पत्रकार विनोद ढुङ्गाना बताउँछन् । “जल्पातालको दृश्यले देखेपछि लाग्छ स्वर्गको टुक्रा भनेको यहीँ होला”, उनले वर्णन गरे ।
कोलाहलबाट परको नयाँ गन्तव्यमा पदयात्रा गर्न चाहने आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको उनको भनाइ छ ।