कहाँबाट आयो चितवन राष्ट्रिय निकुञ्जमा ‘सुँगुर दारे’ हात्ती ?

टुरिजमफेस
चितवन । केही दिनयता चितवन राष्ट्रिय निकुञ्जमा यसअघि कहिल्यै नदेखिएको जंगली भाले हात्ती देखा परेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको चुरे नजिकै रहेको हर्दाखोला क्षेत्रमा लामो दारा भएको जंगली भाले हात्ती देखिएको हो ।
लामो दारा भएकाले सेनाले त्यस हात्तीको नाम ‘सुँगुर दारे’ राखिदिएका छन् । सरसर्ती हेर्दा त्यो हात्तीको उमेर २० वर्षको हुन सक्ने अनुमान गरिएको छ । यो हात्ती कहाँबाट र कसरी चितवनसम्म आइपुग्यो भन्ने यकिन नभए पनि झापादेखि पर्सा करिडोर हुँदै चितवनसम्म पुगेको अनुमान गरिएको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातले हात्ती निकुञ्जको कोर क्षेत्रमा रहेको बताए । चितवन राष्ट्रिय निकुञ्जमा अहिले छावासहित ५८ हात्ती छन् । त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषमा ५ र सौराहामा निजीस्तरमा पालिएका ४५ वटा हात्ती छन् । वयस्क हात्ती आएकाले प्रजननमा सहज हुने अनुमान गरिएको छ । वयस्क हात्तीबाट प्रजनन गराउनुलाई निकै राम्रो मानिन्छ ।