नाडा अटो शो सुरु, यस्तो रह्यो पहिलो दिन

टुरिजमफेस
काठमाडौं । भृकुटीमण्डपमा १७ औं नाडा अटो शो सुरु भएको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा अटो शो सुरु भएको हो । शोको प्रधानमन्त्री केपी शर्माले ओलीले उद्घाटन गरे । अटो शोमा बजारमा चल्तीमा रहेका सवारी साधन र तिनका पार्टस्देखि नयाँ नयाँ सवारी साधन प्रदर्शनी र विक्रीमा लागि राखिएका छन् ।
आयोजकका अनुसार अटो शोमा ३५ कम्पनी तथा १ सय २५ भन्दा बढी प्रदर्शक सहभागी छन् । अटो शो अवलोकनका लागि सर्वसाधारणलाई २०० र विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा १५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । अनलाइनमार्फत टिकट खरिद गर्नेले २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
अटो शोमा रोबोट, उड्ने ट्याक्सीलगायतले सर्वसाधारणलाई आकर्षित गरेका छन् । अटो शो यही भदौ ८ गतेसम्म चल्नेछ । केही दिनअघि पनि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नाइमा मोबिलिटी एक्स्पोको आयोजना गरेको थियो ।
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैनः प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले नाडा अटो शोको उद्घाटनमा वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।
उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास समेत दिलाए । ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन,’ उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो ।’
तस्विरहरू सुप्रदीप्त न्यौपाने/टुरिजमफेस
