नेपालटेकले ल्यायो नयाँ अवधारणासहित फोहोर व्यवस्थापन प्रणाली

टुरिजमफेस
काठमाडौं । नेपालटेक मार्केटले फोहोरलाई मोहरको नयाँ अवधारणासहित फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ ।
यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ ।
नेपालटेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानले यो प्रणालीलाई प्रयोगकर्तामैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको बताए ।
यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ। यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ। प्रमुख व्यवसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् । उनले निरन्तर ग्राहकको अनुभव सुधार गर्न प्रतिबद्ध रहेको बताइन् ।
डिलाइट सोलुसन्सद्वारा सञ्चालित नेपालटेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले फोहोरलाई मोहर अवधारणा उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए । उनले यो प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरिएको जानकारी दिँदै यसले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरे ।
नेपालटेक मार्केटको फोहोरलाई मोहर अभियानले फोहोर व्यवस्थापनलाई केवल सरसफाइको काममा मात्र सीमित नराखी यसलाई डिजिटल समाधानसँग जोडेको छ।
प्रविधि र नवप्रवर्तन मार्फत नेपालको शहरी क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।
नेपालटेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक विभिन्न आईटी सेवाहरू पनि प्रदान गर्दै आएको छ । यसका प्रमुख सेवाहरूमा वेब र मोबाइल अनुप्रयोग विकास, हार्डवेयर उपकरण, डोमेन दर्ता र वेब होस्टिङ, र आईटी तालिम रहेका छन् । यसबाहेक, कम्पनीले ग्राहकको मागअनुसार अनुकूलित सफ्टवेयर विकास, वित्तीय तथ्यांक व्यवस्थापन, र भुक्तानी गेटवे एकीकरण जस्ता विशेष सेवाहरू पनि प्रदान गर्दै आएको छ ।