नेपाल र साउदीबीच श्रम सम्झौता गर्न मन्त्रिपरिषद्को स्वीकृति

टुरिजमफेस
काठमाडौं । नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौतापत्रमा छिट्टै हस्ताक्षर हुने बताइएको छ ।
सन् २०१० देखि नै साउदीसँग श्रम सम्झौताको प्रयास हुँदै आएकोमा बल्ल यसले मूर्त रूप पाएको हो । सम्झौताले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसार अधिकार प्राप्त गर्ने र ‘इम्प्लोयर पे पोलिसी’ अनुसारको सुविधा प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।
श्रम मन्त्री शरतसिंह भण्डारीले श्रम सम्झौतामा नेपाली श्रमिकको आवश्यकता र प्राथमिकता तथा मानव अधिकारलाई केन्द्रमा राखिने बताए । श्रम सचिव कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमा नेपाल सरकारले गम्भीर रूपमा विश्लेषण गरिरहेको बताए । मन्त्रालयले विगतमा भएका श्रम समझदारीपत्रहरूको समेत विस्तृत समीक्षा गरिरहेको बताउँदै सचिव पुष्करले श्रमिक पठाउने मुलुकमा श्रम शोषण र मानव अधिकार उलंघनका विषयमा शून्य सहनशीलताको नीति लिइएको बताए ।
वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ्गले नेपाल र साउदीबीच हुन लागेको श्रम सम्झौता स्वागतयोग्य रहेको बताउँदै अन्य मुलुकहरूमा समेत यस्ता सम्झौता गर्नुपर्ने बताए । श्रम तथा रोजगारका क्षेत्रका विज्ञ युवराज बस्नेतले नेपाली श्रमिक विदेशी भूमिमा सामाजिक संरक्षण प्राप्त गर्ने यो सम्झौताले ध्यान दिएको बताए ।
सन् २०३४ मा हुने फिफा विश्वकप आयोजनाको तयारीस्वरुप साउदीले विगतका श्रम नीतिमा व्यापक सुधार गरिरहेको छ । ‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्च मै सुधार गरिसकेको साउदीले श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरेको छ ।
कतारमा भएको विश्वकपमा श्रमिक शोषणको विषय अन्तर्राष्ट्रिय रूपमा उठेपछि साउदीले श्रमिकको अधिकार र सेवामा विशेष ध्यान दिएको बताइरहेको छ । यसअघि नै ‘साउदी फण्ड’ को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको तालिम उपलव्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसंग साझेदारी गरिसकेको छ ।