पोखराको रमणीय ठाउँ पचभैयामा बढ्न थाले पर्यटक

टुरिजमफेस
काठमाडौं । गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ ।
महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ । गुप्तवासका क्रममा पाण्डवहरु यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा बास बसेको जनविश्वासका कारण यो धार्मिक हिसाबले महत्वपूर्ण रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीनानाथ ढकालले बताए ।
किंवदन्तीअनुसार गुप्तवासका क्रममा यही स्थानमा पाण्डवहरूले यहाँस्थित देउराली देवीको शक्ति प्राप्त गरेका थिए । सोही विश्वासकै कारण पचभैया कोट देउराली मन्दिरमा यस आसपासका दर्शनार्थीहरू अत्यन्त श्रद्धा विश्वासका पूजाआजा गर्न आउने गरेको उनको भनाइ छ ।
साढे दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढुङ्गाको शिला मात्र रहेकोमा स्थानीयको सक्रियताका कारण यहाँ मन्दिर निर्माण गरिएको हो । नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो ।
मन्दिर निर्माणका लागि विसं २०६० मा महायज्ञ गरी त्यहाँबाट सङ्कलित झण्डै रु ५० लाखको सङ्कलन गरिएको थियो । मन्दिर परिसरमा हवनकुण्ड, पुजारी आवास र कार्यालय छन् । मन्दिरभित्र प्राचीनकालदेखि कै शिला राखिएको छ ।
किंवदन्तीअनुसार पाण्डव एकवर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे । तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताएछन् । त्यसक्रममा उनीहरूले देवीको आराधना गरेको र उक्त स्थानमा देवी उत्पति भई उनीहरूलाई शक्ति प्रदान गरेको विश्वास छ ।
पूर्वअध्यक्ष ढकालका अनुसार पाण्डव बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो । पछि अपभ्रंश हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो ।
यहाँबाट विश्वका आठ हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण, धवलागिरी, र मनास्लु हिम श्रृङ्खलालाई एक साथ अवलोकन गर्न सकिन्छ । यहाँबाट बेगनास र रुपा ताल पनि हेर्न सकिने होटेल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष एवं सल्लाहकार दामोदरभक्त थापाले जानकारी दिए ।