गोरक्षेश्वर धाम अब धार्मिक पर्यटकीय गन्तव्य
बागमती । गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ ।
धाममा हेटौँडाको राप्ती नदी तरेसँगै बजारको मुख्य प्रवेशद्वारमा अवस्थित छ । हेटौँडा उपमहानगरपालिका–१० मा यो धाम पर्छ । परिसरभित्र हनुमान, शनि, शिव पञ्चायन १०८ शिवलिङ्ग, सरस्वती, नाग मन्दिरलगायत विभिन्न धार्मिक सम्पदा रहेका छन् ।
विसं २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएसँग यो क्षेत्र धार्मिक पर्यटकका लागि आर्कषक केन्द्र बन्दै गएको धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालले जानकारी दिए।
यस क्षेत्रको समग्र विकासलाई लक्षित गरी पटकपटक महायज्ञ सम्पन्न भएका छन् । महायज्ञमा सङ्कलन भएका दान रकमबाट एक धर्मशाला र ढिकुरी पाटी निर्माण गरिएको छ ।
कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई काजक्रिया गर्न सहयोग होस् भन्ने उद्देश्यले ढिकुरी पाटी एवं क्रियापुत्री भवन निर्माण गरिएको हो ।
व्यक्तिको आर्थिक अवस्थालाई मनन गर्दै सहुलियत शुल्कमा दाहसंस्कारको प्रबन्ध गरिएकोको छ । विभिन्न समुदायका व्यक्तिको दाहसंस्कारका लागि रु दुई हजार र १३ दिनको काजक्रियाका लागि रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।
धामअन्तर्गत करिब पाँच कठ्ठा जग्गा उपलब्ध गराएर परिसरभित्र संस्कृत वेद विद्यालाय स्थापना गरिएको छ । संस्कृत वेद विद्यालयमा देशका विभिन्न भूभागबाट आएका ४० जना विद्यार्थीलाई आवाशीय व्यवस्थासहित पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले बताए ।
यस धाममा नियमित पूजाआजाका लागि पुजारी व्यवस्था गरिएको छ । धामको सम्पत्ति संरक्षण तथा रेखदेखका लागि दुई जना कर्मचारी र थप दुई सुरक्षाकर्मीले सुरक्षा दिएका छन् ।
भक्तजनले पूजामा चढाउने भेटी पुजारीको हुने व्यवस्था छ । बाला चतुर्दशीमा ठूलो मेला लाग्ने गरेको छ । समितिको आयोजनामा १५ वर्षदेखि महिनाको अन्तिम सोमबार गङ्गा आरती गरिन्छ ।
धाम व्यवस्थापनका लागि वार्षिक रु १० लाख आवश्यक पर्छ । सो रकम दानबाट सङ्कलन हुने गरेको छ ।
पार्किङ सुविधा आयआर्जनमा सहयोगी बनेको छ । भारतीय धार्मिक पर्यटक यहाँ आउँछन् । स्नान गर्छन र हेटौँडा घुमेर फर्कन्छन । उनीहरुले गाडी पार्किङ गर्दा रु आठसय ८०० र आन्तरिक पर्यटकसँग रु पाँचसय शुल्क लिने गरिएको छ ।
धाम परिसरमा गौशाला स्थापनाको अवधारणा अघि बढेको छ । २०६७÷२०६८ सालमा अवधारणा बने पनि मूर्तरुप हासिल हुन सकेको छैन ।
