पर्यटकीय क्षेत्र बडिमालिकामा एडिबीको २२ करोड सहयोगमा पदमार्ग बनाइँदै

टुरिजमफेस
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गर्न लागेको छ ।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निमार्ण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले एडिबीसँगको सम्झौताअनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्ण गर्न लागेको हो ।
प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले धार्मिक पर्यटनमा जोड दिएको बताउँदै एसियाली विकास बैंकको र २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निमार्ण गरिने जानकारी दिए । “बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्णका लागि चालु आर्थिक वर्षमा रु सात करोड बजेट आएको छ”, उनले भने, “गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्रामगृह निमार्ण गरेका थियौँ ।”
प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी, होमस्टे (घरबास) प्रवर्द्धन र पर्यटक पथप्रदर्शकलाई तालिमको व्यवस्था गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार पर्यटकको सहजताका लागि कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा हेल्पडेस्क (सहायता कक्ष) सञ्चालनमा छन् ।
प्रदेश सरकारले पर्यटकीय गन्तव्यको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको छ । यसै वर्ष टिकापुरको विमानस्थल स्तरोन्नतिका लागि र७० लाख बजेट विनियोजन भएको भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई मध्यनजर गर्दै प्रदेश सरकारको २५ प्रतिशत लगानीमा मझगाउँ विमानस्थल निर्माण भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले प्रकृतिमा आधारित पर्यटनलाई विकास गर्न लागेको बताए । उनका अनुसार स्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेकाले पर्यटन प्रवर्द्धनका लागि पहल थालिएको उनले बताए ।