महँगिदै पाँचतारे होटल, यस्तो छ कारण

टुरिजमफेस
काठमाडौं । अब पाँचतारे होटल तथा रिसोर्ट महँगिने भएका छन् । सरकारले आर्थिक ऐन २०८२ मार्फत पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टमा कर बढाउने कार्यविधि तयार पारेसँगै ग्राहकलाई थप आर्थिक भार हुने भएको हो ।
कार्यविधिमा पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले सेवाबापत असुल हुने मूल्यअभिवृद्धि करअघिको मूल्यमा २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै नेपालमा पैठारी हुने मदिराको मूल्यअभिवृद्धि करअघिको मूल्यमा पैठारीका बखत सम्बन्धित भन्सार कार्यालयले भन्सारविन्दुमा २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्ने भनिएको छ ।
आन्तरिक राजस्व विभागले तयार पारेको विलासिता शुल्कसम्बन्धी कार्यविधि अनुसार होटल तथा रिसोर्टबाहेक सुन वा सुनको गरगहना बिक्रेताले बिक्रीका बखत पनि बिक्री मूल्यको २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्ने उल्लेख छ । पर्यटन विभागका अनुसार हाल नेपालमा डिलक्ससहितका पाँचतारे होटलको संख्या २ सय १४ छ । यी होटलहरूमा २ प्रतिशत थप विलासिता शुल्क लाग्ने छ ।