जनआन्दोलनको बेला जस्तै चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू

टुरिजमफेस
काठमाडौं । पञ्चायती व्यवस्था अन्त्य हुँदा होस् वा दोस्रो जनआन्दोलनको बेला जस्तै काठमाडौंको चक्रपथ भित्र प्रवेशमा निषेधाज्ञा लगाउने अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकार पुगेको छ ।
जेनजीको शान्तिपूर्ण प्रदर्शनमा १९ युवाको ज्यान लिएपछि र सयौं युवालाई घाइते बनाएपछि अत्तालिएको ओली सरकारले मंगलवार पनि निषेधाज्ञाको बाटो अवलम्बन गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र निषेधाज्ञा आदेश जारी गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेनजीलाई चरम दमन गरेको सरकारको संसारभरि विरोध भइरहेको छ । दमनकारीलाई शक्त कारवाहीको माग भइरहेको छ । सर्वसाधारणले न्याय खोजिरहेका छन् । जेनजीको विरोधलाई रोक्न ललितपुरलगायत विभिन्न जिल्लामा पनि निधेधाज्ञा जारी गरिएको छ ।
जनआन्दोलनको बेला चक्रपथभित्र निषेधाज्ञा जारी गरे पनि अन्ततः आन्दोलनकारीको जित भएको थियो । तर एकैदिन अहिलेको जस्तो ठूला संख्यामा युवा मारिएका थिएनन् ।