तेह्रथुममा सिस्नो प्रशोधन सुरु, बजारको माग धान्नै मुस्किल

टुरिजमफेस
तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले सिस्नोको प्रशोधन सुरु गरेको छ । प्राकृतिक रुपमै उम्रिने सिस्नोबाट रुपैयाँ साट्ने उद्देश्यले चैते सामुदायिक वन उपभोक्ता समितिले सिस्नोको परीक्षण प्रशोधन सुरु गरेको हो ।
डिभिजन वन कार्यालय तेह्रथुममार्फत अनुदानमा प्राप्त रु १० लाख मूल्य बराबरका एक थान हरियो सिस्नोलाई सुकाउने डायर मेसिन, एक थान सुकाइएको सिस्नोलाई पिसेर पडाउर बनाउने मेसिन र एक थान प्याकेजिङ मेसिनमार्फत परीक्षण प्रशोधन सुरु गरिएको चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए ।
लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार वसन्तपुर नजिकैको डाँडाखर्कबाट प्रशोधन सुरु गरिएको हो । उद्योग दर्ता प्रक्रिया अन्तिम चरणमा पुर्याएको समितिले प्रारम्भमा दैनिक दश केजीसम्म पाउडर उत्पादन गर्ने लक्ष्य राखेको छ । विभिन्न जिल्लाबाट सुपरमार्केटहरूले बिक्री–वितरणका लागि समितिलाई सम्पर्क गरिरहेका छन् । त्यसैले त्यतिले मात्र माग धान्न गाह्रो हुने हुँदा दैनिक ५० केजीसम्म पाउडर उत्पादन गर्नसक्ने क्षमताको मेसिनको समेत समितिले स्रोत खोजी गरिरहेको जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख समेत रहनुभएका, सिस्नो प्रशोधन अभियन्ता श्रीप्रसाद कार्कीले बताए ।
अहिले हरियो सिस्नो प्रतिकेजी रु ८० मा खरिद गरेर प्रशोधन गरिँदै आएको छ । प्रशोधन गरेर एक केजी पाउडर तयार गर्न नौ केजी हरियो सिस्नो आवश्यक पर्ने र त्यसको मूल्य करिब रु ३५ सयसम्म पर्न आउने प्रशोधनमा खटिँदै आभएका चैते सामुदायिक वन उपभोक्ता समितिका सहसचिव दीपेन्द्र बस्नेतले बताए ।