भोजपुरको साल्पा-सिलिछो चुचुरो र साल्पा पोखरी पर्यटकका लागि आकर्षण केन्द्र बन्यो

टुरिजमफेस
भोजपुर । यहाँको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् ।
समुद्री सतहबाट चार हजार एक सय ५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथासहित अन्य हिमाल नियाल्न सकिन्छ । हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्दो छ । चुचुरो चढे पश्चात देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको छ ।
चुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्व राख्छ । भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन्। वर्षमा चारपटक–वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा–यहाँ मेला लाग्ने गर्दछ । ती अवसरमा भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बु लगायतका जिल्लाबाट भक्तजनको ठूलो भीड लाग्ने गरेको स्थानीयको भनाइ छ ।
यस स्थानलाई धामीझाँक्रीहरूले शक्तिको गुरुको रूपमा मान्ने परम्परा रहेको छ भने सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, बोली नआउनेलाई बोली आउने विश्वासले मानिसहरु यहाँसम्म पुग्ने गरेका छन् ।
कचौरा आकारमा फैलिएको साल्पा पोखरी समय–समयमा रङ परिवर्तन गर्ने विश्वासले प्रख्यात छ । किरात राई समुदायले यसलाई आफ्ना पुख्र्यौली भगवान्का रूपमा पूजा गर्ने गरेका छन् ।