जलविद्युत् कम्पनीका शेयर निष्काशनमा ढिलाइ तत्काल हटाउन सरकारसँग इप्पानको आग्रह

टुरिजमफेस
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले धितोपत्र बोर्डद्वारा जलविद्युत् कम्पनीको आइपिओ र हकप्रद शेयर निष्काशनमा भएको ढिलाइले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको उल्लेख गर्र्दै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा इप्पानले विगत २८ महिनादेखि धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका शेयर निष्काशनमा गरेको ढिलाइले ऊर्जा क्षेत्रको विकासमा गम्भीर असर परेको दाबीसमेत गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले हालसम्म ९७५ मेगावाट बराबरका कूल ४३ कम्पनीको आइपिओ र सात वटा कम्पनीको हकप्रद शेयर निष्काशन गरी कूल रु २३ अर्ब २७ करोड आठ लाख बराबरको धितोपत्र निष्काशन हुन नसकेको बताए ।
“आइपिओ र हकप्रद शेयर निष्कासन नहुँदा ऊर्जा क्षेत्रले रु एक खर्ब आठ अर्ब ५० करोड गुमाउनुपरेको छ । समयमै जारी नभएको कारण रु १२ अर्ब ४० करोड ५४ लाख ब्याज रकम बढेको छ भने रु २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको छ । साथै, रु ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमेको छ”, उनले भने ।
यसका साथै रियल नेटवर्थ भन्ने शब्द र त्यस्तो नेटवर्थ ९० भन्दा माथि हुनुपर्ने कारण देखाएर रिचेत जलविद्युत्, बेनी हाइड्रोपावर, युनिक्यु हाईडेल, याम्बलिङ, लाफिङबुद्ध र पुवा खोला जलविद्युत् कम्पनीलाई आईपीओ आवेदनबाटै हटाइएकामा समेत उहाँले असहमति जनाए ।
इप्पानले धितोपत्र बोर्डले हाल ‘रियल नेटवर्थ’ भन्ने नयाँ अवधारणा प्रयोग गरी केही कम्पनीलाई आवेदनबाट हटाएको विषय कानुनमा आधारित नभएको बताएको छ ।
इप्पानले ऊर्जा आयोजनाले उत्पादन सुरु गरेपछि मात्रै आइपिओ निष्काशन गर्न पाउने भन्ने धितोपत्र बोर्डको नीति अदुरदर्शी रहेको बताएको छ । निर्माणाधीन अवस्थामा रहेका परियोजनामा ठूलो लगानी आवश्यक हुने भएकाले निर्माणकै क्रममा सेयर निष्काशन गर्न पाउने कानुनी व्यवस्था रहेको इप्पानको दाबी छ ।