आठ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको मुख्य कारण ओभरलोड
टुरिजमफेस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा शुक्रबार साँझ भएको जिप दुर्घटनाको मुख्य कारण ओभरलोड रहेको छ । प्रहरीका अनुसार ओभरलोडको अवस्थामा रहेको जिप साँघुरो सडकले दुर्घटनामा परेको थियो । रा १ ज ४२२ नम्बरको जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
घाइते हुनेमा आठविसकोट नगरपालिका–२ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा छन् ।
त्यस्तै १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा पनि घाइते छन् ।
नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिप सडकदेखि ७०० मिटर तल खसेको थियो ।
