पर्यटकीय सिजनमै किन सेवा बन्द गर्ने अवस्थामा पुग्यो होटल हायात ?
टुरिजमफेस
काठमाडौं । पाँचतारे होटल हायात रिजेन्सीले सेवा बन्द गरेपछि चौतर्फी चासो बढेको छ । हायातले विज्ञप्ति जारी गर्दै भदौ २४ गतेको प्रदर्शनमा तोडफोड भएकाले सेवा बन्द गर्नुपरेको बताएको छ । यतिखेर होटल प्रशासनले आफ्ना कर्मचारीलाई समेत प्रवेशमा रोक लगाएको छ ।
विगतमा होटल व्यवस्थापन र कर्मचारीबीच विभिन्न खाले विवाद हुँदै आए पनि सेवा बन्द गरिएको थिएन । हायातले सेवा बन्द गरेपछि सरकारी निकायले चासो व्यक्त गर्दै सुरक्षा दिने जानकारी होटल व्यवस्थापनलाई गराएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले हायात व्यवस्थापनसँग सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सञ्चालन गर्न आग्रह गरेका छन् ।
कात्तिक २ गते हायात होटलले विज्ञप्ति जारी गर्दै होटल तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेको जनाएको थियो ।
‘भदौ २३ र २४ गतेका दिन भएको आन्दोलनको क्रममा यस होटल समेतमा भएको तोडफोड र आगजनी क्रियाकलापले होटल संरचनामा क्षति पुग्न गएको कारण होटल तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेकोले यसको मर्मत तथा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नुपर्ने अपरिहार्य भएको छ,’ होटलले विज्ञप्तिमार्फत् भनेको थियो, ‘होटलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाइ मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको व्यवसायिक सेवा लगायत सम्पुर्ण होटल नै पूर्ण रूपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पुर्ण श्रमिक अर्को सूचना प्रेषित नहुँदा सम्म होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’
हायात बहुराष्ट्रिय चेन होटल हो । पाँचतारे होटल हायात नेपालमा काठमाडौंको बौद्धमा २५ वर्षदेखि सञ्चालनमा छ ।
