मोटा धान प्रतिक्विन्टल ३,४६३ रूपैयाँमा किन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
टुरिजमफेस
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मोटा धान प्रतिक्विन्टल ३,४६३ रूपैयाँ ८१ पैसामा खरिद गर्न सुरु गरेको छ । धान काटेर राखिसक्दा पनि खरिद प्रक्रिया सुरु नभएपछि किसान निराश हुँदै आएका थिए ।
यस वर्षका लागि कम्पनीले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,४६३ रूपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३,६२८ रूपैयाँ ३३ पैसा तोकेको छ । किसानले कम्पनीले तोकेका खरिद केन्द्रमा धान लिएर बिक्री गर्दा तोकिएको मूल्य पाउँछन् ।
खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले कम्पनीले देशभरका १३ वटा शाखा कार्यालयहरू महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडबाट खरिद सुरु भइसकेको बताए ।
यस वर्ष कम्पनीले प्रारम्भिक चरणमा १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
