दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापनको तयारीमा मिथिलानी
																	
																टुरिजमफेस
महोत्तरी । यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् ।
कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् ।
रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित भएको स्थानीय बताउँछन् । अब भने मिथिलानी यो पर्वको समापनको तयारीमा जुटेका छन् ।
“हामीले मौसम राम्रो नहुँदा सामा राम्ररी मनाउन पाएनौँ, अब समापनको बेला आइसक्यो । बाँकी विधि राम्ररी रमाइलो गर्दै समापन गर्ने तयारीमा छौँ”, भङ्गाहा–७ की रङ्गिला चौधरी थारुले भने, “दाजु समापनमा आउने पक्का भएको छ ।” उनका अनुसार कात्तिक शुक्ल पञ्चमी अर्थात् यसपटक सम्पन्न छठपर्वको खरनाका दिनदेखि सुरु गरिएको सामा कात्तिक पूर्णिमाका दिन समापन गरिँदै छ ।
मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवालाई बोलीचालीमा ‘सामा’ भनिन्छ । यो मिथिलानीबीच समूहमा गीत गाउँदै मनाइने रमाइलो खेल हो । त्यसैले यसलाई ‘सामा खेल्ने’ पनि भनिन्छ ।
अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई पर्वका लागि खबर दिन व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि गर्ने र मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई बोलाउन व्यस्त भएका हुन् ।
