मलेसियाको १० बुँदे मापदण्ड नेपाल सरकारद्वारा अस्वीकार
टुरिजमफेस
काठमाडौं । नेपाली श्रमिक लैजान मलेसिया सरकारले तय गरेका मापदण्ड नेपाल सरकारले नमान्ने बताएको छ । केही दिनअघि नेपाली श्रमिक लैजान मलेसियाले १० बुँदे मापदण्ड बनाएर पठाएको थियो ।
मापदण्ड हालकै अवस्थामा स्वीकार गरेर कार्यान्वयन गर्न नसकिने धारणासहितको पत्र पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए । परराष्ट्र मन्त्रालयमार्फत १० बुँदे सर्त र मापदण्ड स्वीकार गरेर कार्यान्वयन गर्न नसकिने व्यहोरा पत्र पठाइएको बताए ।
प्रधानमन्त्री सुशीला कार्कीले समेत यो विषयमा सरोकारवालासँग छलफल गरेकी थिइन् । म्यानपावर व्यवसायीहरूले समेत उक्त मापदण्ड मान्य नहुने बताउँदै आएका छन् ।
मलेसियाले तोकेको मापदण्डमा इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको हुनुपर्ने, पछिल्लो तीन वर्षमा ३ हजार श्रमिक पठाएको अनुभव र प्रमाण हुनुपर्ने, एजेन्सीहरूले पछिल्ला पाँच वर्षभित्र कम्तीमा तीन देशमा श्रमिक पठाएको रेकर्ड हुनुपर्ने, सम्बन्धित निकायबाट तालिम, मूल्यांकन, भर्ती र कामदार पठाउने सम्बन्धी सबै वैद्य अनुमति प्राप्त गरेको हुनुपर्ने र आफ्नो देशका सम्बन्धित निकायबाट जारी गरिएको सदाचार (गुड कन्डक्ट सर्टिफिकेट) प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने लगायतका छन् ।
