मुस्ताङमा हिउँचितुवा पीडितलाई राहत वितरण
टुरिजमफेस
मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमद्वारा हिउँचितुवा पीडित २६ घरधुरीलाई वन्यजन्तु क्षति राहत हस्तान्तरण गरिएको छ ।
एक्यापले संरक्षित हिउँचितुवा र चितुवाको आक्रमणबाट पशुधनमा भएको क्षति राहत सम्बन्धित घरधुरीको बैंक खातामा भुक्तानी गराएको जनाएको छ ।
बिहीबार जोमसोमस्थित एक्याप कार्यालयमा आयोजित वन्यजन्तु संरक्षण सचेतना गोष्ठी तथा राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख एवं संरक्षण अधिकृत राजेश गुप्ताले दुई वर्षदेखि रोकिएको वन्यजन्तु क्षति राहत सम्बन्धित पशुपालक घरधुरीलाई वितरण गराई भौचर हस्तान्तरण गरिएको जानकारी दिए ।
आव २०८०-८१ र आव २०८१-८२ मा वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका गरी कूल २६ घरधुरीको १११ पशुधन क्षति भएवापतको रु १३ लाख १८ हजार राहतस्वरुप हस्तान्तरण भएको जनाइएको छ ।
कार्यालय प्रमुख राजेश गुप्तका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा वन्यजन्तु क्षति राहत रकम पाउन नसकेकालाई एक्यापको वन्यजन्तु क्षति राहतको आपत्कालीन कोषबाट सम्बोधन हुने गरी राहत उपलब्ध गराइएको हो ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका पाँच घुरधुरीका २४ पशुधनको रु दुई लाख ३६ हजार, घरपझोङ गाउँपालिकाअन्तर्गतका ११ घरधुरीका ६९ पशुधनको क्षति राहत रु सात लाख २५ हजार र थासाङ गाउँपालिकाअन्तर्गतका १० घरधुरीका लागि ३० पशुधन क्षति भएवापतको तीन लाख ५७ हजार राहतस्वरुप हस्तान्तरण भएको एक्याप जोमसोमले उल्लेख गरेको छ ।
पछिल्लो दुई आर्थिक वर्षमा बारागुङ मुक्तिक्षेत्रमा हिउँ चितुवाको आक्रमणमा परी याक छ र च्यांग्रा १६ क्षति भएको थियो । घरपझोङमा च्याङ्ग्रा ५८, याक आठ र घोडा तीन क्षति भएको थियो । यसैगरी थासाङ गाउँपालिकामा याक १८ र दुई बाख्रा वन्यजन्तुको आक्रमण परी क्षति भएको थियो ।
