फर्किएको रैथाने कोदोको ढिँडो खान्कीको रौनक बन्यो, पर्यटकीय स्थाल नजिकैका होटलले चखाउँछन् रैथाने खानाको स्वाद
टुरिजमफेस
काठमाडौं । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो ।
त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरु पनि सुन्न पाइन्थ्यो ।
अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मनपर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोष्ट गर्ने गर्छन् ।
पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा होस् या होटलमा, मानिसहरुले सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला या ढिँडो नै रोजाइमा पर्न थालेको छ । पहिलेको धनीमानी तथा सानको खाना भातलाई अहिले मानिस रोगको घरका रुपमा लिन्छन् । किनभने चिकित्सकहरु नै धेरै भात नखान सुझाउँछन् । सकेसम्म अर्गानिक खाना, रैथाने उत्पादनको खान्की र सकेसम्म भात थोरै खानुपर्ने चिकित्सकहरुको सल्लाह छ ।
पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । त्यसैले मानिस विषादी प्रयोग नभएको, रैथाने उत्पादन तथा कार्बोहाइड्रेट धेरै नभएका खानेकुरा रोज्न थालेका छन् ।
खाद्य, पोषण तथा जनस्वास्थ्यविद् डा अरुणा उप्रेती पछिल्लो समय पहिलेका रैथाने अन्न जस्तै कोदो, फापर, गुद्रुक, मकै तथा च्याख्ला र दाल भात धेरैको रोजाइमा पर्न थालेको बताउँछन् । रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि पनि बजारका र आधुनिक खानेकुराभन्दा रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको उहाँनको अनुभव छ ।
मानिसमा शारीरिक व्यायाम आदि कम हुँदै गएको र बजारका खानेकुराको मात्रा बढ्दै गएकाले अर्गानिक तरिकाबाट उत्पादन गरिएका यस्ता स्थानीय, रैथाने खानाले स्वास्थ्यलाई राम्रो गर्ने उनको सुझाव छ ।
राजधानी काठमाडौँबाहेक नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको विमानस्थल नजिक रहेको ‘एयरपोर्ट’ थकाली, चिप्लेढुङ्गाको मन्त्र थकाली, फेवाताल ड्यामसाइडस्थित मोनालिसा थकाली, पोखराको नौडाँडामा रहेको भण्डारी भान्सा घर, चितवनको भरतपुरस्थित पाते ढिँडो थकाली, भरतपुरमै रहेको बाजेको माछा महललगायत थुप्रै होटल तथा रेष्टुरेन्टहरुले पारखीहरुलाई स्थानीय रैथाने खानाको स्वाद चखाइरहेका छन् ।
