निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
टुरिजमफेस
काठमाडौं । सरकारले आसन्न निर्वाचनको वातावरण बनाउन प्रमुख राजनीतिक दलहरुसँगको वार्ता र संवादलातई तीव्रता दिएको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत राजनीतिक दलसँग चरणबद्ध वार्ता र छलफलमा जुटेको हो ।
सोही प्रयोजनका निम्ति सरकारी वार्ता टोलीले प्रमुख तीन दलका कार्यालय अनुगमनका साथै नेताहरुसँग छलफल गरेको छ । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले मङ्गलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर निर्वाचनको वातावरणका लागि वार्ता र संवाद गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनील सिंहको संयोजकत्वमा गठित समितिमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ती दलका कार्यालयको अनुगमनकासाथै दलहरुसँग निर्वाचनको माहोल बनाउनेबारे कुराकानी गरे ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका कार्यालय अवलोकन गर्ने क्रममा मन्त्री सिन्हा र मन्त्री खरेलले प्रमुख दलका मागका विषयमा सरकार गम्भीर रहेको बताए। उनीहरू सानेपास्थित नेपाली कांग्रेस, ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगी त्यहाँ भएको क्षतिको विवरण लिनुका साथै दलका प्रतिनिधिसँग छलफल गरेका थिए ।
सरकारका मन्त्रीहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उनीहरूबाट उठाइएका विषय सरकारसमक्ष पु¥याउने प्रतिबद्धता पनि जनाए ।
तीनवटै राजनीतिक दलको कार्यालय अनुगमन र सम्बन्धित दलका नेताहरुसँगको संवादपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनाउनका लागि गरिएको दलहरुसँगको वार्ता र संवाद उपलब्धिमूलक रहेको र यसले निर्वाचनलाई सुनिश्चित गरेको बताए ।
