आज तमु ल्होसारः गुरुङ समुदायको नयाँ वर्ष, देशभर उत्सवको रौनक
टुरिजमफेस
काठमाडौं । गुरुङ समुदायले आज परम्परा, संस्कृति र सामूहिक उत्साहका साथ तमु ल्होसार पर्व मनाइरहेका छन्। पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने यो पर्व गुरुङ समुदायको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ।
‘ल्हो’ ले वर्ष र ‘सार’ ले फेरिनुलाई जनाउने भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ। यस दिनलाई गुरुङ समुदायले नयाँ वर्षको आरम्भका रूपमा विशेष महत्वका साथ मनाउँदै आएका छन्।
तमु ल्होसार सूर्यको गति र तापसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत क्षेत्रमा पुस महिनामै सूर्यको ताप बढी महसुस हुने भएकाले यही समयमा ल्होसार मनाइने विश्वास छ। यही कारण पछि तामाङ र शेर्पा समुदायले क्रमशः माघ र फागुनमा ल्होसार मनाउने परम्परा विकसित भएको जानकारहरू बताउँछन्।
पुस १५ को रात वर्षकै सबैभन्दा लामो रात हुने र त्यसपछि दिन लम्बिँदै जाने भएकाले पनि तमु ल्होसारलाई प्रकृतिसँग जोडिएको पर्वका रूपमा लिइन्छ।
तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। पर्वलाई विशेष बनाउन राजधानीको टुँडिखेलमा गुरुङ समुदायले विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता देखिएको छ।
महोत्सवमा गुरुङ समुदायका पुरुष–महिला परम्परागत पोसाकमा सजिएर नाचगान, सांस्कृतिक प्रस्तुति र मौलिक खानाका परिकारमार्फत आफ्नो पहिचान प्रदर्शन गरिरहेका छन्। आयोजकका अनुसार महोत्सवले गुरुङ संस्कृतिको संरक्षणसँगै सांस्कृतिक पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
