फ्लाई दुबईको विमान नियन्त्रणमा लिन खोजिएको घटना ‘आतंकवादी हमला’को प्रयास भएको यूएईको दाबी
काठमाडौं । फ्लाई दुबईको विमान उडिरहेकै अवस्थामा कप्तानमाथि आपतकालीन बञ्चरो (क्र्यास एक्स) ले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजिएको घटनालाई संयुक्त अरब इमिरेट्स (यूएई)ले ‘आतंकवादी हमलाको प्रयास’ भनेको छ।
यूएईका महान्यायाधिवक्ता हमद सैफ अल–शम्सीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी दिँदै सहपाइलटले उडानकै क्रममा योजनाबद्ध रूपमा आक्रमण गरेको बताएका छन्।
उनका अनुसार सहपाइलटले ककपिटभित्र राखिएको आपतकालीन बञ्चरो प्रयोग गरेर कप्तानमाथि प्रहार गरेका थिए। त्यसपछि विमानको नियन्त्रण आफ्नो हातमा लिने प्रयास गरिएको थियो।
घटनाको वास्तविक उद्देश्य, सम्पूर्ण परिस्थिति र सम्भावित सम्बन्धबारे अनुसन्धान भइरहेको महान्यायाधिवक्ताले बताएका छन्। घटनास्थलबाट संकलन गरिएका भौतिक तथा डिजिटल प्रमाणको प्राविधिक परीक्षण र विश्लेषणसमेत भइरहेको उनले जानकारी दिएका छन्।
यूएईका राष्ट्रपतिका वरिष्ठ सल्लाहकार अनवर गर्गाशले पनि घटनालाई आतंकवादी गतिविधिसँग जोड्दै चरमपन्थविरुद्धको संघर्ष अझै समाप्त नभएको बताएका छन्। उनका अनुसार घृणात्मक अभिव्यक्तिमार्फत आतंकवादलाई जायज ठहराउने प्रयाससमेत जोखिमकै हिस्सा हो।
विमानभित्रै कप्तानमाथि आक्रमण
सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडानमा १७२ यात्रु तथा चालक दलका सदस्य सवार थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विमानमा रहेका अधिकांश यात्रु इजरायली नागरिक भएको बताएका छन्। उनका अनुसार आक्रमणकारीले विमानलाई नै दुर्घटनाग्रस्त बनाउने प्रयास गरेका थिए।
कप्तानमाथि आक्रमण भएपछि यात्रु तथा चालक दलका सदस्यहरूले सहपाइलटलाई नियन्त्रणमा लिएको सञ्चारमाध्यमका रिपोर्ट र प्रत्यक्षदर्शी विवरणमा उल्लेख छ।
त्यसपछि विमानलाई सुरक्षित रूपमा साउदी अरबको तबुक विमानस्थलमा अवतरण गराइएको थियो।
आपतकालीन बञ्चरो प्रयोग भएको पुष्टि
यूएईका महान्यायाधिवक्ताले घटनामा ‘क्र्यास एक्स’ प्रयोग भएको पहिलोपटक औपचारिक रूपमा स्पष्ट गरेका हुन्।
ठूला विमानमा आपतकालीन अवस्थामा ककपिटबाट बाहिर निस्कन आवश्यक परे चालक दलले प्रयोग गर्न सक्ने उद्देश्यले यस्ता उपकरण राखिने बताइएको छ।
एसोसिएटेड प्रेसले घटनाबारे जानकार तीन व्यक्तिलाई उद्धृत गर्दै सहपाइलट ओमानी नागरिक हमाम अल–हमामी रहेको जनाएको छ। तीमध्ये एक जना खाडी क्षेत्र र अर्का पश्चिमी देशका कूटनीतिज्ञ रहेको बताइएको छ।
यद्यपि ती स्रोतहरूले आफ्नो नाम सार्वजनिक गर्न नचाहेको र सहपाइलटको पहिचानलाई सीएनबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको उल्लेख गरिएको छ।
घाइते कप्तानको अवस्था स्थिर
इजरायली प्रधानमन्त्री नेतान्याहुका अनुसार आक्रमणमा घाइते भएका विमानका कप्तान भारतीय नागरिक स्मित मच्छर हुन्।
रियादस्थित भारतीय दूतावासले मच्छरलाई तबुकस्थित अस्पतालमा उपचार गरिएको र उनको अवस्था स्थिर रहेको जनाएको थियो। पछि फ्लाई दुबईले उनलाई यूएई फर्काइएको जानकारी दिएको छ।
ककपिटमा प्रवेश गरी विमान नियन्त्रणमा लिन सहयोग गर्ने यात्रु यानिभ हायुनको बहादुरीको नेतान्याहुले प्रशंसा गरेका छन्। उनले हायुनलाई ‘नायक’को संज्ञा दिँदै विश्वस्तरीय सम्मानको हकदार रहेको बताएका छन्।
उडानको तथ्यांकमा असामान्य गतिविधि
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ का अनुसार बोइङ ७३७ म्याक्स ८ विमानले आपतकालीन संकेत दिनुअघि असामान्य रूपमा तीव्र उचाइ परिवर्तन गरेको थियो।
उपलब्ध ट्रान्सपोन्डर तथ्यांकअनुसार एफजेड १०७३ विमान करिब २९ सेकेन्डमा १४ हजार फिटभन्दा बढी उचाइबाट तीव्र गतिमा तल झरेको देखिएको छ।
विमानको ठाडो गति प्रतिमिनेट करिब ३० हजार फिट तल झर्ने अवस्थादेखि १० हजार फिटसम्म माथि उक्लिएको देखिएको तथ्यांकमा उल्लेख छ।
सामान्य उडानका क्रममा विमानको ठाडो गति प्रतिमिनेट ४ हजार फिटभन्दा माथि तल झर्ने वा माथि उक्लिने घटना निकै दुर्लभ हुने फ्लाइटराडार २४ ले जनाएको छ।
घटनाको वास्तविक कारण, आक्रमणको उद्देश्य र सहपाइलटको सम्भावित सम्बन्धबारे यूएईका सुरक्षा निकायले थप अनुसन्धान अघि बढाइरहेका छन्।
