दशैंमा घर फर्किने यात्रुको चाप बढ्दै, टिकटमा मनपरी भाडाको गुनासो
काठमाडौं । दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्ने देखिएको छ। यस वर्षको चाडपर्वमा सार्वजनिक यातायातमार्फत मात्रै करिब १० लाखदेखि १५ लाखसम्म यात्रुले उपत्यका छाड्न सक्ने अध्ययनले देखाएको छ।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको उच्चस्तरीय अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार यात्रुको चाप व्यवस्थापन गर्न ठूलो संख्यामा सार्वजनिक सवारी परिचालन गर्नुपर्नेछ। यात्रुको अनुमानित संख्याअनुसार ४३ हजार ५७४ देखि ६५ हजार ३६१ ट्रिप आवश्यक पर्ने देखिएको छ।
अध्ययनले घटस्थापनादेखि नवमीसम्म उपत्यकाबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण गरेको छ। विशेषगरी फूलपातीका दिन सबैभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। उक्त दिन मात्रै ७५ हजार ५२२ देखि १ लाख १३ हजार २८३ यात्रु सार्वजनिक यातायातबाट बाहिरिन सक्ने प्रतिवेदनमा उल्लेख छ।
सडकको अवस्थाले थप चुनौती
पछिल्लो समय आएको बाढी तथा अविरल वर्षाका कारण देशका विभिन्न सडक तथा पुल क्षतिग्रस्त भएकाले दशैंको यात्रा थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ। धादिङ, नुवाकोट, रसुवालगायतका क्षेत्रमा सडक र पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
यात्रुको चाप बढ्ने समयमा सडकको अवस्था, सवारी जाम, दुर्घटनाको जोखिम र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले समस्या थपिन सक्ने अध्ययनको निष्कर्ष छ। चालकलाई पर्याप्त आराम नदिई लामो समयसम्म सवारी चलाउने अवस्थालाई पनि दुर्घटनाको जोखिमसँग जोडिएको छ।
टिकटमा कालोबजारीको गुनासो
अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखुल्दै लामो दूरीका अधिकांश सवारीको टिकट सकिएको दाबी यातायात व्यवसायी तथा काउन्टरका कर्मचारीहरूले गर्न थालेको सामग्रीमा उल्लेख छ।
काठमाडौंका विभिन्न बसपार्क तथा टिकट काउन्टरमा बुझ्दा दशैंका लागि टिकट बुकिङ भइसकेको बताइएको र यात्रुहरूले तोकिएको भाडामा टिकट नपाएको गुनासो गरेका छन्। केही यात्रुले तोकिएको दरभन्दा ५ सयदेखि १ हजार रुपैयाँसम्म बढी तिर्नुपर्ने अवस्था आएको बताएका छन्।
सर्वेक्षणअनुसार २४ प्रतिशत यात्रुले मात्र सहज रूपमा टिकट पाएका छन्। ४२ प्रतिशतले टिकट लिन निकै कठिनाइ भएको बताएका छन् भने ३० प्रतिशतले तोकिएको भाडाभन्दा बढी रकम तिरेर मात्र टिकट पाएको बताएका छन्। करिब ४ प्रतिशत यात्रुले खोज्दा पनि टिकट नपाएको गुनासो गरेका छन्।
ईभीमा पनि भाडा विवाद
लामो दूरीमा सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) को भाडा पनि विवादमुक्त देखिएको छैन। सरकारले ईभीका लागि छुट्टै भाडादर तोकेको दाबी गरे पनि उक्त दर सार्वजनिक रूपमा स्पष्ट नभएको भन्दै व्यवसायीले डिजेल सवारीसाधनसरह रकम लिने गरेको प्रतिवेदनमा उल्लेख छ।
केही अवस्थामा यात्रुले तिरेको रकमभन्दा कम मूल्यको टिकट दिने वा टिकट नै नदिने प्रवृत्तिसमेत देखिएको सामग्रीमा उल्लेख छ।
फूलपातीदेखि अष्टमीसम्म उच्च चाप
अध्ययनअनुसार दशैंका मुख्य दिनमा यात्रुको चाप निकै बढ्नेछ। फूलपातीका दिनपछि अष्टमीसम्म मात्रै दुई लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिन सक्ने अनुमान गरिएको छ।
यात्रुको माग पूरा गर्न ठूला बसको हिस्सा ४८ प्रतिशत, माइक्रोबसको ४३ प्रतिशत र मिनी बसको करिब ९ प्रतिशत रहने अनुमान गरिएको छ।
नागढुंगा र भक्तपुर नाकामा बढी चाप
उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्याका आधारमा भक्तपुर नाका अगाडि देखिएको छ भने यात्रुको संख्याका आधारमा नागढुंगा नाका प्रमुख रहेको अध्ययनमा उल्लेख छ।
कुल बाहिरिने सवारीमध्ये ५८.४२ प्रतिशत भक्तपुर नाका हुँदै जाने र नागढुंगाबाट १६.८७ प्रतिशत तथा फर्पिङबाट १२.८१ प्रतिशत सवारी बाहिरिने अनुमान गरिएको छ। यात्रुको हकमा भने नागढुंगा नाकाबाट ३४.५४ प्रतिशत, भक्तपुरबाट ३२.२६ प्रतिशत र फर्पिङबाट २६.९२ प्रतिशत यात्रु बाहिरिने तथ्यांक छ।
नागढुंगा नाकाबाट बाहिरिने सवारीमध्ये करिब ५५ प्रतिशत नारायणगढतर्फ जाने भएकाले पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिङ सडकमा हुने अवरोधले ठूलो संख्यामा दशैं यात्रुलाई असर पार्न सक्ने अध्ययनले औंल्याएको छ।
