राजधानीका पर्यटकीय क्षेत्रमा अराजकता मच्चाउने १२ जना पक्राउ, पर्यटन सुरक्षामा चुनौती
काठमाडौं । नेपाल आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षामाथि प्रत्यक्ष असर पार्ने गतिविधिमा संलग्न १२ जनालाई प्रहरीले काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्रबाट पक्राउ गरेको छ । चाबहिल, गौशाला र तिलगंगा जस्ता संवेदनशील क्षेत्रलाई केन्द्र बनाउँदै पर्यटक र सर्वसाधारणलाई हैरानी दिने, डर–त्रास देखाउने तथा प्रलोभनमा पारेर लुटपाट गर्ने कार्य बढेपछि प्रहरी कारबाहीमा उत्रिएको हो ।
प्रहरीका अनुसार ती व्यक्तिहरूले विशेषगरी विदेशी पर्यटकलाई लक्षित गर्दै जबर्जस्ती नजिकिने, सेवा वा सहयोगको बहानामा पैसा माग्ने र असहज परिस्थिति सिर्जना गर्ने गरेको गुनासो लगातार बढ्दै गएको थियो । यस्तो गतिविधिले राजधानीको पर्यटन छवि कमजोर बनाउने जोखिम बढेको भन्दै सुरक्षा निकाय सतर्क बनेको जनाएको छ ।
सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट परिचालित टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नुवाकोटका अमृत खड्का, पर्साका अकलेश साह र दिनेश पटेल, काभ्रेका सुजन तामाङ र रोजन तामाङ, रोल्पाका प्रवीण ओली, कञ्चनपुरका जितेन्द्र सिंह विक, धनकुटाकी रोशनी राई, झापाका तिर्थ राजवंशी र संगिता तामाङ, उदयपुरकी रचना मगर तथा सुर्खेतकी जेनिशा थापा रहेका छन् ।
प्रहरीले पक्राउ परेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । साथै, पर्यटकीय क्षेत्रको सुरक्षा मजबुत बनाउन नियमित गस्ती र निगरानी थप कडा बनाइने जनाएको छ ।
