पर्यटन मन्त्री भन्छन्–त्रिभुवन विमानस्थलमा ‘देखावटी सुधार’ मात्र, दुई महिनामा महसुस हुने परिवर्तन चाहियो
टुरिजमफेस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु अनुभवप्रति असन्तुष्टि जनाउँदै दुई महिनाभित्र स्पष्ट र महसुस हुने सुधार देखिनुपर्ने चेतावनी दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले विमानस्थलमा बाह्य रूपमा केही सुधार देखिए पनि यात्रु र पर्यटकको दृष्टिकोणबाट अनुभव अझै असहज रहेको बताए। “कस्मेटिक परिवर्तनले काम चलेन,” उनले भने, “सामान्य यात्रुले अनुभूति गर्ने खालको सुधार हुनुपर्छ।”
मन्त्री सिन्हाले आफूले व्यक्तिगत रूपमा भोगेको असहज अनुभव उल्लेख गर्दै साना तर महत्त्वपूर्ण समस्यामा ध्यान नपुगेको टिप्पणी गरे। यात्रु सेवा, व्यवस्थापन र प्रक्रियागत सुधारमा तत्काल कदम चाल्न उनले प्राधिकरणलाई निर्देशन दिए।
हवाई सुरक्षालाई शीर्ष प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै मन्त्री सिन्हाले सीमित समयमै ठोस परिणाम देखाउन आग्रह गरे। “अब बहाना नचाहिन्छ,” उनले भने, “दुई महिनामा एभिएसन सेफ्टी र सेवा सुधारमा काम देखिनुपर्छ। दबाब बिना काम गर्नुस्।”
उनले निर्वाचनपछिको नयाँ सरकार आउनुअघि नै सुधारको आधार तयार पार्न सुझाव दिँदै हालको नेतृत्वले काम सुरु गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए।
मन्त्री सिन्हाले प्राधिकरणको लेखा व्यवस्थापन र सम्पत्ति सुरक्षाप्रति पनि असन्तुष्टि जनाए। कालोसूची हटाउने प्रक्रिया र नयाँ विमानस्थलहरू नियमित सञ्चालनमा आउन नसकेको विषयमा उनले गम्भीर प्रश्न उठाए।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी बनाउनेतर्फ अग्रसर हुन निर्देशन दिँदै उनले ती विमानस्थलमा गरिएको लगानीले राजस्वमार्फत प्रतिफल दिन सक्नुपर्ने धारणा राखे। “त्यहाँको आम्दानीले लगानी उठ्छ कि उठ्दैन, त्यसैले प्राधिकरणको सफलता मापन हुन्छ,” मन्त्री सिन्हाले स्पष्ट पारे।
