मादुरो नियन्त्रणमा, अमेरिका भन्छ– नयाँ सत्ता नआएसम्म भेनेजुएलाको प्रशासन हाम्रो हातमा
काठमाडौं ।अमेरिकाले भेनेजुएलामा सैनिक कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको दाबी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म प्रशासनिक जिम्मेवारी अमेरिकाले सम्हाल्ने घोषणा गरेका छन् ।
शनिबार अमेरिकी सेनाले राजधानी कराकाससहित प्रमुख सहरहरूमा लक्षित आक्रमण गरेको थियो । त्यसक्रममा राष्ट्रपति मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको विशेष इकाइ डेल्टा फोर्सले नियन्त्रणमा लिएको जनाइएको छ । डेल्टा फोर्सलाई अमेरिकाको सबैभन्दा गोप्य र शक्तिशाली आतंकवादविरोधी फौज मानिन्छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरो नियन्त्रणमा परेको तस्बिर सार्वजनिक गर्दै कारबाही सफल भएको बताएका छन् । सार्वजनिक तस्बिरमा मादुरोको हातमा हतकडी, आँखामा कालो पट्टी र कानमा हेडफोन देखिन्छ । उनी ग्रे रंगको ट्र्याकसुटमा देखिएका छन् ।
पछि फ्लोरिडास्थित निवासबाट पत्रकार सम्मेलन गर्दै ट्रम्पले भने,
“भेनेजुएलामा सुरक्षित र जिम्मेवार सत्ता हस्तान्तरण नहुन्जेलसम्म अस्थायी रूपमा प्रशासन अमेरिकाले सम्हाल्नेछ।”
न्यूयोर्कमा मुद्दा, ‘नार्को–आतंकवाद’ को अभियोग
अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा दायर गरिने जानकारी दिएको छ । उनीहरूमाथि लागुऔषध कारोबारलाई संरक्षण गरेको आरोप छ ।
अमेरिकी अटर्नी जनरल पामेला बन्डीका अनुसार मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन तस्करी, अवैध हतियार तथा खतरनाक उपकरण प्रयोगसम्बन्धी अभियोग लगाइएको छ ।
“उनले अब अमेरिकी अदालतमा अमेरिकी न्यायको सामना गर्नेछन्,” बन्डीले उल्लेख गरेकी छन् । तर मादुरोकी पत्नीविरुद्धका आरोपबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र
अमेरिकाको सैन्य कारबाहीको रूस, चीन र कोलम्बियालगायत देशहरूले कडा आलोचना गरेका छन् । रूसी विदेश मन्त्रालयले यसलाई सार्वभौम राष्ट्रमाथिको सशस्त्र आक्रमण भन्दै निन्दा गरेको छ ।
कोलम्बियाले पनि संयुक्त राष्ट्रसंघको चार्टर विपरीत कुनै पनि एकपक्षीय सैन्य हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारेको छ ।
आक्रमणका क्रममा कति सैन्य संरचना ध्वस्त भए वा कति नागरिक हताहत भए भन्ने विवरण अझै सार्वजनिक भइसकेको छैन । कराकासका विभिन्न स्थानमा विस्फोट र धुवाँका मुस्ला देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भेनेजुएलाको प्रतिक्रिया: ‘हामी आत्मसमर्पण गर्दैनौं’
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसबारे सरकारसँग आधिकारिक जानकारी नआएको बताएकी छन् । उनले दुवै जीवित रहेको प्रमाण तत्काल सार्वजनिक गर्न अमेरिकासँग माग गरेकी छन् ।
रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले देशभर सैन्य परिचालन गरिएको जानकारी दिँदै विदेशी सैनिकको उपस्थितिको कडा प्रतिरोध गरिने चेतावनी दिएका छन् ।
स्पेनी भाषामा जारी भिडियो सन्देशमा उनले यसलाई “भेनेजुएलाको इतिहासकै सबैभन्दा ठूलो आक्रमण” भन्दै जनतालाई एकजुट हुन आह्वान गरे ।
“हामीमाथि आक्रमण भएको छ, तर हामी झुक्ने छैनौं,” उनले भने । एजेन्सीको सहयोगमा
