राष्ट्रिय सभा चुनाव : १८ सिटका लागि ४४ जनाको प्रतिस्पर्धा
निर्वाचन आयोगको कार्यालय
काठमाडौं । राष्ट्रिय सभाका १८ पदका लागि ४४ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। बुधबार सातै प्रदेशका प्रदेश राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तोकिएको समयभित्र सबै प्रदेशमा मनोनयन दर्ता सकिएको हो।
निर्वाचन कार्यतालिका अनुसार अब भोलि उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। पुस २५ र २६ गते मनोनयनपत्र तथा परेका उजुरीमाथि छानबिन गरी योग्य उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिनेछ भने पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जानकारी दिएको छ।
राजनीतिक दलहरूको तयारीका हिसाबले यसपटकको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन र एकल प्रतिस्पर्धा दुवै देखिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ भने नेकपा (माओवादी केन्द्र) एक्लै निर्वाचनमा सहभागी भएको छ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशका तीन सिटमा आफ्ना उम्मेदवार अघि सारेको छ। मधेशकै एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जसपाले समर्थन जनाएको छ।
उम्मेदवारी दर्तासँगै राष्ट्रिय सभा निर्वाचनको राजनीतिक चहलपहल तीव्र बनेको छ।
निर्वाचन आयोगको कार्यालय
