रास्वपासँगको सहकार्य अन्त्य, कुलमान घिसिङ बने उज्यालो नेपालको अध्यक्ष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया औपचारिक रूपमा टुंगिएसँगै कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हालेका छन्। घिसिङले आफूलाई पार्टीको अध्यक्ष घोषणा गर्दै आगामी दिनमा उज्यालो नेपाललाई स्वतन्त्र राजनीतिक शक्तिका रूपमा अघि बढाइने संकेत गरेका छन्।
यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक रहेका घिसिङ पार्टीको कार्यकारी भूमिकामा थिएनन्। पार्टीको अध्यक्षको जिम्मेवारी भने अनुपकुमार उपाध्यायले सम्हाल्दै आएका थिए। तर पछिल्लो राजनीतिक घटनाक्रमपछि घिसिङ अध्यक्ष बनेको जानकारी पार्टी प्रवक्ता राजु थापाले दिएका छन्।
उज्यालो नेपाल र रास्वपाबीच यसअघि एकता सहमति हुँदा उज्यालो नेपालका अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका थिए। उक्त सहमतिअनुसार कुलमान घिसिङलाई रास्वपामा पहिलो वरीयताको उपसभापति बनाउने प्रस्ताव थियो। तर पार्टीको नाम, चुनाव चिह्न र संगठनात्मक पहिचानलगायत विषयमा सहमति नजुट्दा अन्ततः एकता प्रक्रिया विफल भएको बताइन्छ।
उज्यालो नेपालका केही नेताहरू एकतापछि पार्टीको नाम परिवर्तन गरेर ‘राष्ट्रिय उज्यालो पार्टी’ वा ‘उज्यालो स्वतन्त्र पार्टी’ राख्नुपर्ने पक्षमा थिए। तर रास्वपाले यस विषयमा स्पष्ट धारणा नदिएको र नाम तथा चुनाव चिह्न जस्ताको तस्तै राख्न चाहेको भन्दै असन्तुष्टि बढ्दै गएको स्रोतको दाबी छ। ‘आफ्नै अस्तित्व मेटाएर एकतामा जान सकिँदैन भन्ने निष्कर्षमा पुग्यौँ,’ पार्टीका एक नेताले बताए।
९४ सदस्यीय केन्द्रीय समिति रहेको उज्यालो नेपालमा एकातिर रास्वपासँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने मत थियो भने अर्कातिर पार्टीको ब्रान्ड पहिचान बनिसकेको भन्दै स्वतन्त्र रूपमा अघि बढ्नुपर्ने धारणा बलियो हुँदै गएको थियो। यही मतभेदको बीचमा अब कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल नयाँ राजनीतिक यात्रामा अघि बढ्ने देखिएको छ।
