संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले लिन थाले अग्रसरता
टुरिजमफेस
दाङ । पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुसँगै मेला, महोत्सवहरुमा थारू जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यहरुमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।
घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुटेकी छन् । माघ सांस्कृतिक कार्यक्रममा उनी आफ्नै मौलिक पोसाकमा भेटिन्छीन् । उनले पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको पनि दायित्व भएको बताइन् ।
आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारू वेशभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनी बताउँछिन् । उनले थारूको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सख्या नाचहरु नाच्न पनि सिकेकी छन् । “सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो”, उनले भनिन्, “तर अहिले सहज जस्तो लाग्छ । आफ्नो जातिगत वेशभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।”
नृत्यसँगै उनलाई थारू जातिका महिलाहरुले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिन मन लाग्ने गरेको उनले बताइन् । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उनको भनाइ छ ।
उनी जस्तै विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनहरुमा थारू जातिसँग सम्बन्धित नाचहरुको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१४ का आशा चौधरी बताउँछिन् । उनी पछिल्लो समय फुर्सदको समयमा थारू नृत्यहरु सिक्नेदेखि कार्यक्रमहरुमा सहभागी हुने गर्छिन् । “आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उनले भनिन्, “जसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिक रुपमा केही आम्दानीसमेत हुने गरेको छ ।” जसले गर्दा आफूलाई हौसल्ला बढाउने काम गरिरहेको उनको भनाइ छ ।
थारू बस्ती बाक्लो भएको गाउँहरुबाट पछिल्लो समय थारू समुदायका युवायुवतीहरु आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रमहरुमा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको थारू अगुवाहरुको भनाइ छ ।
